पोखरामा हुने फेवा नव वर्ष महोत्सवलाई झाँकी र आमा समूहले सघाउने

पोखरा-

यही चैत २९ गतेबाट पोखराको कोमागाने पार्कमा सुरु हुने पाँच दिने १४ औं फेवा नव वर्ष महोत्सवमा झाँकी र आमा समूहरुको विशेष प्रदर्शन रहने भएको छ । विभिन्न जातजातिका झाँकी महोत्सव उद्घाटन अघि स्थानीय खहरेबाट कोमागाने पार्कमा पुग्ने छ । बढी भन्दा बढी जातजातिका संस्कृतिमा आधारित झाँकी महोत्सवमा संलग्न गराउने प्रयास भइरहेको महोत्सवका संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ र वरपरका आमा समूह र झाँकीसँग सम्बन्धित व्यक्तित्वहरुसँग संघले छलफल कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।

फेवा तालको संरक्षण गरौं भन्ने मुख्य नाराका साथ गत वर्ष झै यसपटक पनि पश्चिमाञ्चल होटल संघ पोखराले उक्त महोत्व गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । दिनप्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको उक्त तालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको संघका महासचिव एवं प्रचार उपसमितिका संयोजक गणेशराज पहारीले जानकारी दिए । महोत्सव ४० हजार आन्तरिक तथा बाह्य पर्यटकले अबलोकन गर्ने अपेक्षा गरिएको छ ।

नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको संघले जनाएको छ । अघिल्लो बैशाखको विनासकारी भूकम्प र त्यसपछिको नाकाबन्दीले थिलोथिलो पारेको पर्यटनलाई उकास्ने उपायको रुपमा पनि महोत्सव रहेको छ ।

डुंगा दौड, पर्यटक दौड, लोक र दोहोरी गीतका कार्यक्रम, बाल उद्यान लगायतका आकर्षण महोत्सवले समेट्ने छ । महोत्सवका पाहुनालाई संघले विशेष छुटको समेत व्यवस्था गर्ने तयारी गरेको छ ।

फाइल फोटो 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button