पोखराका मेयर आकांक्षीका एजेण्डा : तिब्बतबाट रेल ल्याउने देखि ताल जोड्ने सम्म

पोखरा-

क्षेत्रफलको हिसाबले देशकै ठूलो महानगरपालिका मानिएको पोखरामा चुनावी सरगर्मी बढेको छ । अबको एकसाताभित्रै उम्मेदवारी मनोनयनको तयारीमा रहेका दलका नेता तथा सम्भावित उम्मेदवारहरुलाई हामीले तपाईका चुनावी एजेण्डाहरु के हुन् ? भनेर सोधेका छौं ।

कांग्रेस, एमाले र माओवादीका उम्मेदवारहरुले फेवा, रुपा र बेगनास ताललाई जोड्ने लिंक रोड बनाउनेदेखि तिब्बतबाट लुम्बिनीसम्म रेल कुदाउनेसम्मका एजेण्डा अघि सारेका छन् ।

मेयरका सबै आकांक्षीहरुले पोखराको विकासलाई प्राथमिकता दिने र लेखनाथ, पोखरा र गाउँहरुको समतामूलक विकासमा ध्यान दिने बताएका छन् ।

मतदाता एवं नागरिक समुदायका अगुवाहरुले भने भ्रष्टाचार नगरेको, विकास प्रेमी एवं पार्टीभन्दा जनतालाई प्राथमिकता दिने उम्मेद्वार उठाउन दलहरुलाई आग्रह गरेका छन् ।

पोखरेलीले नेताका चुनावी एजेण्डा उनीहरुकै शब्दमाः

बेरोजगाररहित शहर, ताल जोड्ने लिंकरोड – रामजी कुँवर, मेयरका दाबेदार नेपाली कांग्रेेस

पोखरालाई बेरोजगाररहित सहर बनाउने र यसका लागि अत्याधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने लक्ष्य मेरो छ ।

अन्तरराष्ट्रिय पोखरा विमानस्थल ३ वर्षभित्र बनाउने, ग्रेटर रिङरोड निर्माण गर्ने, क्लिन सिटी बनाउने, रोडमा भइरहेको पार्किङ हटाउने, सरकारी, निजी साझेदारी (पीइपीपी) मोडलमा छुट्टै पार्किङस्थल निर्माण गरी ट्राफिक व्यवस्थापन चुस्त बनाउने हाम्रो मुख्य एजेण्डा रहेका छन् ।

फेवा, बेगनास, रुपासहित महानगरमा पर्ने सबै ताल छुने गरी लिंकेज रोड बनाउने लक्ष्य छ ।

ताल संरक्षणसहित प्रदुषणमुक्त बनाउने, फेवाताल वरिपरि फुट ट्रयाक बनाउने, ठाउँठाउँमा पार्क बनाउने, साईकल लेन बनाउने, छोरेपाटनदेखि अर्मलासम्म र गगनगौंडादेखि मालेपाटनसम्म दोहोरो सञ्चालन हुने गरी मेट्रो रेल चलाउने योजना छ । प्रदेशस्तरीय र महानगरस्तरीय बसपार्क निर्माण गर्ने एजेण्डा लिएर हामी चुनावमा जाँदैछौं ।

तालहरु जोड्ने लिंकेज रोड, समतामूलक विकास -मानबहादुर जिसी, मेयरका सम्भावित उम्मेदवार एमाले

तीन मनोविज्ञान अर्थात पोखरा, लेखनाथ र महानगर बन्दा थपिएका गाउँहरुको मनोभावना समेटेर ३ ठाउँलाई केन्द्र मानेर काम गर्ने हाम्रो मिसन हुनेछ ।

फोहरमैला व्यवस्थापन वैज्ञानिक तरिकाले गरेर त्यहीँ रोजगारी सिर्जना गर्ने, समृद्ध महानगर, सुखी महानगरपालिकाबासी बनाउने लक्ष्य छ ।
पर्यटकीय क्षेत्र लेकसाइड मात्रै हो भन्ने मानसिकता तोडेर महानगरका सबै क्षेत्रमा होटल, रेष्टुरेण्ट खोल्दै होम स्टे अवधारणालाई गाउँगाउँसम्म पुर्‍याउने लक्ष्यका साथ काम हुनेछ ।

प्रदेशस्तरीय र महानगर स्तरीय गरी २ वटा बसपार्क बनाउने, सबै वडालाई जोड्नेगरी सडक सञ्जाल विस्तार गर्ने योजना छ ।

पोखरा र लेखनाथमा पर्ने सबै तालहरुलाई जोड्ने लिंकेज रोड बनाउने, पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई ५ वर्षभित्रै निर्माण सम्पन्न गर्ने हाम्रो योजना छ ।

तिब्बतबाट रेल, जसको नीति उसकै नेतृत्व -विश्वप्रकाश लामिछाने, मेयरका सम्भावित उम्मेदवार माओवादी केन्द्र

नेपाली जनताको सरोकार, गाउँ नगरमा सिंहदरबारमा आएकाले यसको प्रत्यानुभुति गराउन माओवादीकै नेतृत्व आवश्यक छ । त्यसैले जसको नीति उसकै नेतृत्व भन्ने नाराका साथ हामी चुनावमा जाँदैछौं ।

यो २० वर्षपछि आएको स्थानीय तहको निर्वाचन नभई ३ पुस्तादेखिको अनवरत संघर्षपछि आएको स्थानीय सरकार भएकाले अहिलेसम्मको केन्द्रीकृत शासन प्रणाली भत्काउन पनि माओवादीको नेतृत्व आवश्यक छ ।

तिब्वत, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म कुद्ने मेट्रो रेलको ट्राञ्जिट प्वाइन्ट पोखरा बनाएर लैजाने हाम्रो योजना छ । पोखरा, लेखनाथ र महानगरमा थपिएका अन्य गाउँलाई पनि पर्यटकीय नगरीको विकास गर्ने योजना छ । लेखनाथसहित सबै क्षेत्रमा पर्यटकीय पूर्वाधारण निर्माण गर्ने हाम्रो एजेण्डा छ ।

स्रोत – अनलाइनखबर –  https://www.onlinekhabar.com/2017/04/576156/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button