धार्मिकस्थलको संरक्षणमा जुट्दै तनहुँका प्रहरी

पोखरा न्युज –

सधैँ राष्ट्र र जनताको धनजनको सुरक्षामा खटिने नेपाल प्रहरी पछिल्लो समय सामाजिक एवम् धार्मिकस्थलको संरक्षणमा सक्रिय भएर लागेका छन् ।

दमौलीस्थित धार्मिकस्थल व्यासगुफा र परासर मन्दिर क्षेत्रमा मादी नदीको बहाव बढ्दा हुनसक्ने खतरालाई मध्यनजर गर्दै खोलाको ढुङ्गा लगेर रोकावट गर्न प्रहरीले तटबन्धन निर्माण कार्य गरेका हुन् ।

तनहुँका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक उमेशराज जोशीको नेतृत्वमा प्रहरी र म्यादी प्रहरीसहितको ५० जनाको टोलीले मङ्गलबार उक्त क्षेत्रको संरक्षणका लागि २ घन्टा तटबन्धन निर्माण गरे ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयमा रहेको अधिकांश जनशक्ति दोस्रो चरणको निर्वाचनमा गएको अवस्थामा सामाजिक उत्तरदायित्व बोध गर्दै धार्मिक क्षेत्रको संरक्षणमा प्रहरी जुटेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिनुभयो ।

व्यास गुफा संरक्षण समितिले मादी नदीको बहाव बढेकाले गुफा आसपास क्षेत्रमा कटान गर्न थालेपछि पर्खाल लगाउन थालेको र पानीले पर्खाल लगाउन नसकिने भएपछि पर्खाल लगाउने स्थानसम्म ढुङ्गा ओसार्ने कार्यमा प्रहरीलाई खटाइएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।

धार्मिकस्थल संरक्षणका लागि केही जनशक्ति माग गरेकाले करिब ५० जना प्रहरी खटाइएको प्रहरी प्रमुख जोशीले बताउनुभयो । उक्त धार्मिक क्षेत्रमा नदी कटान गर्न सक्ने सम्भावना रहेकाले अझै जनशक्ति माग भए प्रहरीले सहयोग गर्न पछि नहट्ने प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button