पहिलो पटक फेवातालमाथि डुंगामा चार्टर सेरोमनी

पोखरा न्युज –

रोट्रयाक्ट क्लव अफ पोखरा लेकसाइडले आफ्नो चार्टर सेरोमनी शुक्रबार फेवातालमाथि डुंगामा सम्पन्न गर्ने तयारी गरेको छ । पोखराको इतिहासमा पुरा कार्यक्रम नै तालमाथि सम्पन्न हुन लागेको यो पहिलो अवसर भएको क्लवका अध्यक्ष सुवास मल्लले बताए ।

कार्यक्रममा क्लवको प्रथम कार्यसमितिको पदस्थापन तथा स्मारिकाको प्रथम अंकको विमोचन समेत हुनेछ । कार्यक्रमको उद्घाटन कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले गर्ने कार्यक्रम छ भने कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक ३२९२ नेपाल भुटानका प्रमुख डिआरआर शुसिल कार्कीले विशेष आतिथ्यता ग्रहण गर्नेछन् ।

फेवातालको हल्लनचोक स्विमिङ्ग पुल घाटमा हुने कार्यक्रममा पेडल बोटहरुलाई स्टेजका रुपमा प्रयोग गरिने छ सामान्य डुंगाहरुमा सहभागीहरु बस्ने व्यवस्था मिलाइएको छ । ६३ जना सदस्यहरु रहेको क्लवको यो कार्यक्रमका लागि सदस्यहरु तथा अतिथिहरु गरी कुल ३० वटा डुंगामा १२० जनाको सहभागिता रहने कार्यक्रम संयोजक श्रीकृष्ण अधिकारीले बताए ।

कार्यक्रमका लागि जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा प्रबन्ध मिलाइएको छ भने सशस्त्र प्रहरीको टोली पनि मोटरबोट सहित तैनाथ हुने आयोजकको भनाइ छ । क्लवका प्रथम उपाध्यक्ष सन्तोष खनालले तालमाथि कार्यक्रम गर्नु चुनौतिपूर्ण भए पनि मौसम पुर्वानुमान तथा आयोजकको तयारीका कारण कार्यक्रम सुरक्षीत तवरबाट सम्पन्न हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button