सिमेन्ट उद्योगद्वारा तौल घटाइ उपभोक्तालाई ठगी

पोखरा न्युज –

सरकारी तथा निजी क्षेत्रबाट उत्पादित सिमेन्ट उद्योगले तौल घटाइ उपभोक्तालाई ठगी गरेको पाइएको छ ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजु र आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्तरुपमा गरेको अनुगमनमा न्यू निशान सप्लायर्स नागार्जुन, जोरगणेश हार्डवेयर स्वयम्भू र अरनिको हार्डवेयर ट्रेडर्स ढुङ्गेधाराले ठगी गरेको पाइएको हो ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुका प्रमुख शशीभुषणकुमार यादवले आधा किलोदेखि आठ किलोसम्म कम तौल बनाएर ठगी गरेको भेटिएको बताउनुभयो । न्यू निशान सप्लायर्सले बेच्दै आएको सिमेन्टमध्ये सिद्र्धार्थ सिमेन्टमा आधा किलो, अल्ट्रा र जगदम्बा सिमेन्टमा तीन किलोसम्म कम सिमेन्ट पाइएको छ ।

जोरगणेश हार्डवेयर स्वयम्भूले बिक्री गरेको ब्रिज सिमेन्टमा दुई किलो र अरनिको हार्डवेयर ट्रेडर्स ढुङ्गेधाराले बिक्री गरेको एडभान्स पावर सिमेन्टमा तीन किलोसम्म कम भेटिएको नापतौल कार्यालयले जनाएको छ ।

सरकारी क्षेत्रबाट उत्पादित सिमेन्टमा पनि ठगी गरेको पाइएको छ । सरकारको लगानी रहेको उदयपुर र हेटौँडा सिमेन्ट कारखानाबाट उत्पादित सिमेन्टमा पनि पाँच किलोसम्म कम सिमेन्ट भेटिएको कार्यालयका प्रमुख यादव बताउनुहुन्छ ।

अरनिको हार्डवेयर ट्रेडर्सका सञ्चालक नच्छेलाल श्रेष्ठ कम्पनीले नै बोरामा कम सिमेन्ट भरेर पठाएको बताउनुहुन्छ । “एउटै कम्पनीको सिमेन्टमा कुनै बोरामा ४८ किलो र कुनै बोरामा ५२ किलो भएको पाइएको छ,” उहाँले भन्नुभयो ।

हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका अध्यक्ष रघुरमण न्यौपाने हेटौँडा सिमेन्टले सिमेन्ट कम राखेर बिक्री नगरको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“हामी जनताको सेवा गर्न बसेका हौँ, कसरी जनतालाई ठग्न मिल्छ, म उपभोक्तालाई जोखेर लिन आग्रह गर्छु ।” कतिपय बिक्री केन्द्रले नापतौल सम्बन्धी यन्त्रको समेत अनुमतिपत्र नलिएको अनुगमनका क्रममा भेटिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button