अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइन तीन वर्षमा सकिने

पोखरा न्युज ।

नेपाल र भारतका सम्बन्धित अधिकारीले बहुप्रतीक्षित अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको शुक्रबार स्थलगत निरीक्षण गर्नुभएको छ ।

परियोजनाको निरीक्षणका लागि बिहीबार काठमाडौँ आइपुगेको तीन सदस्यीय भारतीय टोली शुक्रबार नेपाली अधिकारीका साथ स्थलगत निरीक्षणमा गएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई जानकारी दिनुभयो । संयुक्त टोलीले निरीक्षणका क्रममा खास गरी पाइपलाइनस्थल र पाइपलाइन विस्तार कसरी अघि बढाउने सम्बन्धमा निरीक्षण गरेको उहाँले बताउनुभयो ।

अमलेखगञ्जदेखि रक्सौलसम्मको निरीक्षण क्रममा संयुक्त टोलीले त्यस क्षेत्रमा भइरहेको सडक विस्तार पाइपलाइन बिछ्याउन सहज हुने भए पनि कतिपय स्थानमा घरटहरा र विद्युत् खम्बा तथा ट्रान्सफर्मर हटाउनुपर्ने निष्कर्ष निकालेको छ । प्रवक्ता गोइतले भन्नुभयो, “पाइपलाइन जाने बाटो सबै निश्चित भइसकेको छ, मुख्य कुरा सडकको किनार भएर पाइपलाइन जाने भएकाले जमीनको खासै समस्या छैन, अन्य समस्याका बारेमा स्थानीय प्रशासनसँग छलफल गरी शीघ्र काम अघि बढाउनेछौँ ।”

तीनदिने भ्रमणका लागि नेपाल आएको भारतीय टोलीले आएकै दिन नेपाल आयल निगमका उच्च अधिकारीसँग काठमाडौँमा सो परियोजनाका विविध पक्षका बारेमा छलफल गरिसकेको छ । अमलेखगञ्जदेखि रक्सौलसम्मको ३८ किमी लम्बाइ पाइपलाइन बिछ्याउन बोलपत्र हुनाका साथै आगामी डिसेम्बरसम्म सम्पूर्ण आवश्यक सामग्री आइसक्ने बताइएको छ ।

निर्माण शुरु भएको मितिले ३६ महिनामा काम सम्पन्न गर्ने समयावधि तोकिएको परियोजनाको लागत रु चार अर्ब २० करोड रहेको प्रवक्ता गोइतले जानकारी दिनुभयो । सो परियोजना भारतको मोतीहारीसम्म विस्तार गर्ने भारत पक्षको तयारी छ । यसको कुल लम्बाइ ७२ किमी छ । भारतले हालको रक्सौल डिपोलाई मोतीहारीमा विस्थापन गर्ने काम अघि बढाइसकेको छ ।

आपूर्ति सचिव कृष्णप्रसाद देवकोटाको नेतृत्वमा रहेको नेपाली टोलीमा आयल निगमका प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक गोइत तथा भारतीय आयल निगम (पाइपलाइन) निर्देशक अनिश अग्रवालको नेतृत्वको भारतीय टोलीमा सोही विभागका प्रमोद नारङ र भारतीय आयल निगमका महाप्रबन्धक एसएस बोस सहभागी हुनुहुन्छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button