काँकडभिट्टादेखि बुटवलसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार

रेल विभागले पूर्वी भाग अर्थात् काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सकेको छ ।

मेचीदेखि महाकाली जोड्ने करिब नौ सय ४५ किलोमिटर रेलमार्गको डीपीआर विभागले तयार गर्दैछ । त्यसमध्ये पूर्वी खण्डको ६ सय १९ किमिको डीपीआर तयार भएको हो ।

सहायक मार्गसहित रेलमार्गको कुल लम्बाइ १३ सय ७६ किमि हुनेछ ।

झापाको काँकडभिट्टाबाट शुरु हुने रेलमार्गको अन्तिम विन्दु कञ्चनपुरको गड्डाचौकी नाका हुनेछ ।

बुटवलदेखि पश्चिम खण्डको डीपीआर निर्माणमा विभागका अधिकारीहरु जुटेका छन् । रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायका अनुसार उक्त खण्डको डीपीआर १० महिनाभित्र तयार पारिसक्ने लक्ष्य छ ।

‘निर्माण भने नयाँ सरकारको निर्णयबमोजिम हुनेछ,’ उपाध्यायले भने ।

लालबन्दीदेखि बर्दिवाससम्मको ३० किमिमा निर्माण शुरु भइसकेको छ । उक्त खण्डमा कल्भर्ट र ग्राभेलिङको काम सकिएको छ । पुलका लागि टेन्डर आह्वान हुन सकेको छैन । सोही कारण आगामी चार वर्षमा पनि उक्त खण्डको निर्माण सकिने लक्षण देखिएको छैन ।

उपाध्यायका अनुसार ठेक्का लागेपछि पनि पुल निर्माण सक्न करिब तीन वर्ष लाग्छ । पुल बनेपछि मात्र रेलको लिक बिछ्याउन शुरु हुन्छ ।

मध्य भाग अर्थात् सिमराबाट पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी जोड्ने भागको डीपीआर विवादित अवस्थामा छ । आरक्ष र निकुञ्ज क्षेत्र भएकाले विभागले त्यसको विकल्पबारे अध्ययन थालेको छ ।

सोही कारण मध्यभागको डीपीआर नै काम नलाग्ने भएको छ ।

पूर्वपश्चिम रेलमार्गको अवधारणामा सन् २००८ देखि काम शुरु भएको हो, जसको डीपीआरले अन्तिम रुप पाउन अझै वर्षदिन लाग्ने देखिएको छ । निर्माण शुरु भएका इलाकामा पनि कछुवा गतिमा काम भइरहेको छ ।

उक्त रेलमार्ग निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान सरकारसँग छलफल अगाडि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले असोज अन्तिम साता जापान भ्रमण क्रममा आफ्ना समकक्षी कासुनुरी ताकाहासीसँग त्यससम्बन्धि प्रस्ताव गरेका थिए ।

यसबारे काठमाडौंस्थित जापानी दूतावासका अधिकारीहरुसँग पनि केही चरणका छलफल भएका छन् । तर, निष्कर्ष निस्किइसकेको छैन ।

 

स्रोत : अनलाइनखबर https://www.onlinekhabar.com/2017/12/645427

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button