पोखरा सडक महोत्सवमा दर्शकको भिड

· वेटर रेसमा प्याराडिसोका रामलाल प्रथम

· टग अफ वारको उपाधी गौरिघाटलाई

रेवान पोखराको आयोजनामा पोखरामा जारी १९ औं सडक महोत्सवमा शनिबारदेखि अवलोकनकर्ताको अत्याधिक भिड बढेको छ । शनिबार बिदाको दिन, नेपालीहरुको पर्व पुष १५ तथा तमुहरुको ल्होछार पर्व परेकाले पनि सडक महोत्सवमा दर्शकहरुको चाप अध्याधिक भएको महोत्सवका संयोजक समेत रहेका रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गले बताए ।

महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा शनिबार दिउसो राष्ट्रिय लोक दोहोरी कलाकारहरु कोमल ओली, पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, सरला पाण्डे, सम्झना अधिकारी, कृष्ण काफ्ले, श्रीराम अधिकारी, टेक क्षेत्री, सरस्वती लामिछाने लगायतको प्रस्तुती रहेको लोकदोहोरी समितिका शालिग्राम पौडेलले जानकारी दिए । त्यसैगरि हाँस्य कलाकारहरु दिनेश काफ्लेको प्रस्तुतीमा दर्शकहरु पेट मिचि मिचि हाँसेका थिए । त्यसैगरि रत्यौलि प्रतियोगिता पनि जारी रहयो । शनिबार साँझ स्थानिय पप् व्याण्ड र सबिन राईको प्रस्तुती रहेको पप् कार्यक्रम संयोजक योगेश भट्टराईले बताए ।

‘सडकमैं खाउ सडक मैं नाचौं र सडकमैं रमाउ’ भन्ने नाराका साथ जारी महोत्सव अन्तर्गत शनिबार हल्लनेचोकमा सम्पन्न वेटर रेसमा प्याराडिसो रेष्टुरेण्टका रामलाल परियार प्रथम, फेवा थकालीका सञ्जय गुरुङ्ग द्वितिय तथा माया पवका कृष्ण सापकोटा तृतीय भए । त्यसैगरि वेट्रेस रेशमा फेवा थकालीका रेनु राना प्रथम, माया पवका बबिता परियार द्वितिय तथा ब्यञ्जन रेष्टुरेण्टका नविन थापा मगर तृतीय भएको खेलकुद कार्यक्रमका संयोजक लोक गुरुङ्गले जानकारी दिए । उनीहरुले क्रमश नगद रु ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाए ।

गौरीघाटमा सम्पन्न रस्साकसि प्रतियोगितामा गौरिघाटको ‘ए’ समुह प्रथम, गौरिघाटकै ‘बि’ समुह द्वितिय तथा रत्नश्री जिमको टोलीले तृतीय स्थान हाँसिल गरे । प्रतियोगितामा प्रथमले नगद रु १५ हजार, द्वितियले नगद रु १० हजार तथा तृतीय हुनेले नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

आइतबार नयाँ वर्षको स्वागतका लागि भारतको मन्त्र व्याण्ड, नबिन के. भट्टराई, तृष्णा गुरुङ्ग लगायतको प्रस्तुतीले मध्यरात १२ बजेसम्म दर्शकहरुलाई मनोरञ्जन दिलाउने योगश भट्टराईले बताए । आइतबार दिउँसो कोमागाने पार्कमा लोकदोहोरी तर्फ बद्रि पंगेनी, तारापती सुबेदी, सरला पाण्डे, शान्ति श्री परियार, राजन कार्की, निशा पोख्रेल लगायतको प्रस्तुती रहने छ । त्यसैगरि हाँस्य कलाकारहरु जिरे खुर्सानी युनिट, शिवहरी बैरागी र देवीराम पराजुलीको प्रस्तुती रहने छ । रत्यौलि प्रतियोगिता पनि आइतबारको अर्को आकर्षण रहने साँस्कृतीक कार्यक्रम समितिका सदस्य दलबहादुर केसीले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button