संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्छौं – मन्त्री बस्नेत

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न सरकार इमान्दारिताका साथ प्रयत्नशील रहेको बताउनुभएको छ ।

मन्त्री बस्नेतले आज सिन्धुपाल्चोकको बाह्रबिसे–ओमपार्क सडक आयोजनाको शुभारम्भ गर्दै लामो संघर्षपछि मुलुकले प्राप्त गरेको संविधानको अक्षरशः पालना गर्न सरकार लागिपरेको बताउनुभयो ।

निर्वाचन आयोग र प्रमुख दलहरुको परामर्शमा सरकार राष्ट्रियसभाको निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको अवगत गराउँदै उहाँले त्यसपछिका कानूनी प्रावधान पूरा गरेर नयाँ सरकार गठन हुने विचार व्यक्त गर्नुभयो ।

सडक पूर्वाधारले मात्र विकासका अन्य ढोका खुल्न गई दिगो र सन्तुलित विकास हुने उहाँको भनाइ थियो ।

सडक आयोजनाको समयमै गुणस्तरीयरुपमा सम्पन्न गर्न स्थानीयवासीको सहयोग र योगदान आवश्यक रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “बाह्रबिसे–ओमपार्क सडक आयोजना यस क्षेत्रका जनताको पर्यटकीय, कृषि र सहज यातायातका लागि महत्वपूर्ण छ ।”

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले मुलुक संघीयतामा गइसकेको र त्यसलाई संस्थागत गर्न सरकारले जनताका दैनिक जीविकोपार्जनका आवश्यकता पूर्ति गर्न भरमग्दुर काम गरिरहेको बताउनुभयो ।

कूल १४.२ किलोमिटर लम्बाइको उक्त सडक रु ३३ करोड ३० लाख १८ हजार ५३५ को लागतमा निर्माण हुने सडक विभागले जनाएको छ ।

विसं २०७४ असारदेखि प्रारम्भिक पूर्वाधार निर्माण शुरु गरेको उक्त आयोजना २०७७ असारमा सम्पन्न हुने संयुक्त लगानीकर्ता (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button