Pokhara News

बागलुङमा मौरीको घार र महबाट मनग्य आम्दानी


बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।

दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोलेका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेश त्यागेर उद्यममा लागेका खत्रीले व्यावसायिक सफलता हासिल गरेका हुन् । खत्रीको उद्योगमा वर्षमा ८ सय भन्दा बढी मौरीका घार बन्ने गरेका छन् ।

६० भन्दा बढी घारमा मौरीपालन गरेका खत्रीले वार्षिक सरदर ५ सय किलो मह बेच्छन् । प्रतिकिलो रु १ हजारमा मह बेचेर पनि राम्रो आम्दानी गर्दै खत्रीले विसं २०५० देखिको यो पेशालाई व्यावसायिक बनाएका हुन् । ‘शुरुमा रु ५ लाख लगानी भएको थियो, केहीले उद्योगमा रोजगारी पाएका छन्’– खत्रीले भने।

बुबाको सीप र अनुभवबाट सिक्दै परिवार नै मौरीपालनलाई व्यावसायिक बनाउन लागिपरेको खत्रीले बताए । उनको उद्योगमा बन्ने आधुनिक मौरीका घार लिन बागलुङसहित छिमेकी जिल्लाका किसानसमेत आउने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले खत्रीकै उद्योगबाट वर्षेनी सयौँ घार खरिद गर्दै आएको छ । व्यावसायिक मौरीपालक किसानलाई अनुदानमा घार उपलब्ध गराउन कार्यालयले उक्त उद्योगबाट घार किन्ने गरेको छ । खुद्रा किन्दा प्रतिघार रु २ हजार ५ सय पर्ने गरेको छ भने कृषि कार्यालयले एकमुष्ठ किन्दा प्रतिघार रु २ हजार ४ सय तिर्ने गरेको छ ।

कार्यालयले सो मूल्यमा २५ प्रतिशत अनुदान कटौती गरी किसानलाई घार उपलब्ध गराउँदै आएको छ । पर्वत र म्याग्दीका कृषि विकास कार्यालयसँग पनि घार खरिदका लागि पहल गरिएको खत्रीले बताए । खत्रीको उद्योगमा आधुनिक ‘न्युटन बी’ सेरेनाको घार बन्ने गरेको छ । घार बनाउन प्रयोग हुने टुनी, उत्तीस, लाँकुरीजस्ता काठ गाउँमै खरिद गर्ने गरिएको छ । घार बनाउन चाहिने कच्चा पदार्थ र सामग्री बजारबाट किन्ने गरिएको उहाँको भनाइ छ ।

खत्रीका अनुसार उद्योगबाट मौरीसहितका घार पनि बेच्ने गरिएको र त्यस्तो घारको मुख्य रु ६ हजार पर्छ । मौरीपालक बढेसँगै आधुनिक घारको माग पनि बढेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ । मौरीपालक किसानलाई अनुदान उपलब्ध गराएपछि थप आकर्षण बढेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लबप्रसाद अधिकारीले बताए । कार्यालयले किसानको दक्षता बढाउन सीपमूलक तालिममा पनि पठाउने गरेको उनको भनाइ छ । खत्रीका अनुसार हाल जिल्लामा सात हजारभन्दा बढी घारमा मौरीपालन गरिएको छ।


अन्य खबर

म्याग्दीको पोखरेबगरमा किसानलाई औजार हस्तान्तरण

रासस

बागलुङमा तरकारी फलाउँदै विद्यार्थी

रासस

विना धितो कर्जा उपलब्ध गराउन माग

पोखरा न्युज
खुल्दैछ.......