मनाङ-मुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

पोखरा न्युज – १३ माघ ।

हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन् ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन् । पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए ।

एघार जिल्लामा ट्राउट पालनको सहायक परियोजना सञ्चालनमा छन् । अरु आठ जिल्लामा पहिलेदेखि नै पालन हुँदै आए पनि तीन जिल्लामा परियोजनाले शुरु गरेको निर्देशक झाले बताए । त्यस क्षेत्रमा ट्राउट साढे दुई किलोसम्मको हुने गरेको छ । पर्यटन व्यवसायीले एक माछाको रु ३००-४०० सम्ममा बेच्ने गरेका छन् । उनले भने, “पर्यटकले अरु कुरासँगै ताजा ट्राउट खान पाएका छन् भने व्यवसायीले पनि राम्रो आम्दानी गरिरहेका छन् ।”

छ वर्ष पहिले उच्च पहाड र हिमालका १० जिल्लामा परियोजना शुरु भएको थियो । स्थानीयवासीले गर्दै आएको कृषि र पशुपालनलाई नै व्यावसायिक बनाउन परियोजनाले अनुदान सहयोग गर्दै आएको छ । परियोजनाले दुई हजार फिटभन्दा तलका क्षेत्रमा परियोजनाको २० प्रतिशत र किसानको ८० प्रतिशत तथा त्यसभन्दा बढी उचाइका ठाउँमा किसानको र परियोजना दुवैको ५०-५० प्रतिशत लगानीमा विभिन्न सहायक परियोजना सञ्चालन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button