म्याग्दीमा रोगका कारण सुन्तला उत्पादन र गुणस्तरमा कमी

पोखरा न्युज – १५ माघ ।

सुन्तलाको दानामा कालो दाग देखिने समस्याका कारण उत्पादन र गुणस्तरमा ह्रास आएको छ ।

अधिकांश बगैँचाको सुन्तलाको दानामा कालो दाग लाग्ने समस्या देखिन थालेको कृषकले बताएका छन् । कालो दाग लागेको सुन्तलाको दाना सानो आकारको हुने, फोहर देखिने र खाँदा अमिलो हुने समस्या रहेको बेनपा–३ राखुका खिम पुनले बताए ।

राखु, मरेक, बास्कुना, बरञ्जा, भोर्नेनी, रुन्मा, ताकम, बिम, दोसल्ले, भुरुङ, नारच्याङ, घारको बगैँचामा कालो दाग लाग्ने रोग फैलिएको छ । दाग लागेको सुन्तलाको दाना कृषि प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । कत्लेकीरा, सुतिमोल्ड र मिलीबग कीराका कारण सुन्तलामा कालो दाग लाग्ने समस्या देखिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताए ।

“प्रकोपका रुपमा फैलिन थालेकाले नियन्त्रणका लागि पहल थालेका छौँ”, उनले भने, “बगैँचाको सरसफाइ र व्यवस्थापन नहुँदा यस्तो समस्या देखिएको हो ।” कृषि विज्ञ र प्राविधिकको टोलीले बेनी नगरपालिका–३ राखुको सुन्तला बगैँचाको निरीक्षण गरी कृषकसँग छलफल गरेको छ ।

क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत धनबहादुर राना, क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत माधवप्रसाद लम्साल, कृषि अनुसन्धान केन्द्र मालेपाटनका कृषि विज्ञ लोकनाथ अर्याल र बागवानी विकास अधिकृत थापाले बगैँचाको अवलोकन गरी कृषकसँग छलफल गरेको हो ।

म्याग्दीको ६८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ भने यस वर्ष दुई हजार २६५ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button