पोखरामा प्रदेश नं ४ को प्रदेशसभा बैठक शुरु

पोखरा न्युज – २२ माघ ।

प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज यहाँ शुरु भएको छ ।

नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ः०२ बजे जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरिसकेका छन् । बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गरिरहेका छन् ।

आजको बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुख बाबुराम कुँवरले संसद् बैठक आह्वान गरेको सूचना पढिने छ । आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने र सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम छ ।

बैठकमा प्रत्येक ठूला दलबाट तीन-तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक-एकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम तय गरिएको छ । बैठक करिब एक घण्टा १५ मिनेट चल्ने अनुमान गरिएको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

यस प्रदेशमा ११ जिल्लाबाट ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुनुहुन्छ । नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद छन् ।

प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १(ख) बाट निर्वाचित राजिव गुरुङले भने हालसम्म शपथ लिएका छैनन् । संसद् बैठकमा सहभागी हुनका लागि अधिकांश प्रदेशसभा सदस्य हिजै प्रदेश मुकाम पोखरा आइपुगेका थिए । बैठकको मूल कक्षमा सभामुखसहितको रोष्टमका अतिरिक्त प्रदेशसभा सदस्यका लागि ६६ वटा कुर्ची र केन्द्रीय संसद्कै ढाँचाका ३५ वटा माइक जडान भएको टेबुल राखिएको छ ।

मूल कक्षको पछिल्लो भागलाई पारदर्शी सिसाले छुट्याइएको उपकक्षमा विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी र दर्शकका लागि व्यवस्था गरिएको छ । प्रदेशको बैठकलाई लक्ष्य गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठकमा सहभागी हुन प्रदेशसभा सदस्यहरू निर्धारित गरिएको पोशाकअनुसार नै पुरुष सदस्य दौरासुरुवाल, सुटपाइन्ट एवं महिला सदस्य साडी चोलोमा आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button