पोखराको सराङकोटमा महायज्ञ शुरु, एकै व्यक्तिले गरे १६ करोड १० लाख सहयोग घोषणा

पोखरा न्युज , २२ माघ ।

सराङकोटमा निर्माण शुरु गर्न लागिएको धार्मिक पर्यटन गुरुयोजनाको लागि आयोजना गरिएकोे श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको पहिलो दिन बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्टद्वारा १६ करोड १० लाख सहयोग गर्ने घोषणा गरेका छन् । गुरुयोजना अन्तर्गत निर्माण गर्न लागिएको विशाल बुद्ध मन्दिर निर्माणको लागि १५ करोड र निर्माणाधीन विशाल शिव मन्दिरका लागि १ करोड १० लाख प्रदान गर्ने घोषणा गरेका हुन् ।

विष्टले बुद्ध र हिन्दु एकै धर्म रहेको आफूले बुद्ध धर्म अध्ययन गर्दा शरणार्थी भई भारतमा अध्ययन गरेता पनि आफ्नो पहलमा नेपालमै बौद्ध धर्म अध्ययन विद्यालय खोलेपछि आम नेपालीले बौद्ध धर्म अध्ययन र अध्यापन गर्न पाएको बताए ।
मुस्ताङ लोमान्थाङ निवासी विष्ट विगत १५ वर्षदेखि पोखरा १८ सराङ्कोटमै बौद्ध अध्ययन विद्यालय संचालन र सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ समाजसेवी पूर्व सभासद् सूर्य बहादुर केसीले सराङकोटमा निर्माण गर्न लागिएको वृहद गुरुयोजनाले हिन्दु र बुद्ध धर्मको सकारात्मक सन्देश प्रदान गरेकोले निर्माण हुन लागिएको बुद्ध मन्दिरका लागि १० तोला सुन र विशाल शिव, गणेश र अन्य देवीदेवताको मूर्ति निर्माणका लागि आफूले पूर्ण सहयोग गर्ने घोषणा गर्नुभयो । गाइघाट पोखराबाट शुरु भएको विशाल कलश यात्रा विन्ध्यवासिनी हुँदै सराङकोटमा पुगी धार्मिम सभामा परिणत भएको थियो । कार्यक्रममा प्रमुख वाचक भागवतभाष्कर कमलनयन गौतमले ॐकार परिवार एक भएमा विश्वबाट बौद्ध र हिन्दु धर्म अनुयायीहरु मात्र भित्र्याउन सके देशको लागि ठूलो सहयोग हुने बताए ।

सोही कार्यक्रममा पण्डित कुल प्रसाद पहारी (घनश्याम) ले एक रोपनी जग्गा दान, अध्यक्ष प्रेम बहादुर जिसीले २५ लाख सहयोग गर्ने घोषणा गर्नुभएको थियो । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ का रणबहादुर थापा, वडा नं. २ का अध्यक्ष रामेश्वर मल्ल, नेकपा एमाले वडा कमिटी १८ अध्यक्ष पुष्कर थापा, काँग्रेसका इकाई सभापति शिव प्रसाद तिमिल्सिना, महिला समन्वय समितिका अध्यक्ष कल्पना ढकाल, ब्रह्माकुमारी इश्वरी विश्वविद्यालयका दिपा बहिनी, सचिव विष्णु तिमिल्सिना लगायतले महायज्ञको सफलतासँग सराङ्कोटसँगै सराङ्कोट वृहत गुरुयोजना सफल हुने बताए ।

महायज्ञ सम्पन्न गर्न २७ वटा विभिन्न उपसमिति गठन भई माघ २२ गतेदेखि फागुन १ गतेसम्म महायज्ञ हुने महायज्ञमा दैनिक रुपमा श्रीमद्भागवत कथा वाचन, लघुरुद्री पाठ, दानविर सम्मान, सामूहिक ब्रतबन्ध, चौरासी पूजा लगायतको धार्मिक कार्यक्रम राखिएको सचिव एवं प्रचारप्रसार संयोजक कृष्ण थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button