प्रदेश १ र ३ मा एमालेको संसदीय दलको नेता र सभामुख चयन

पोखरा न्युज – २६ माघ ।

पूर्वमन्त्री शेरधन राईले प्रदेश नं १ मा नेकपा एमाले संसदीय दलको नेतामा २६ मत बटुल्दै निर्वाचित भएका छन्।

विराटनगरस्थित जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा भीम आचार्यलाई २ मतले पछि पार्दै प्रदेश नं १ को संसदीय दलको नेतामा राई निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी भीम आचार्यले २४ मत पाए। १ मत बदर हुन पुग्यो। राईले निर्वाचनपछि प्रदेश सरकार गठनको प्रक्रिया सुरु गर्ने बताए। ढिलोमा फागुनको २ गतेभित्र प्रदेश सरकार बन्ने राईको भनाई छ। ‘मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो,’ राईले भने, ‘अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया शुरु हुन्छ।’

उनले १ नं प्रदेश प्रदेशलाई भ्रष्टाचारमुक्त समृद्ध प्रदेश बनाउने उल्लेख गरेका छन्। ‘दलभित्र भएको चुनावलाई लिएर कसैलाई काखा र कसैलाई पाखा गर्नेछैन,’ राईले भने, ‘मैले कुनै भेदभावको दृष्टिले हेर्नेछैन। सबै माननीय सदस्यहरुलाई समान दृष्टिले हेर्नेछु। सबैलाई जिम्मेवारी प्रदान गर्नुपर्छ।

त्यसैगरी, नेकपा एमालेले प्रदेश नं ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल चयन भइसकेका छन्।

शुक्रबार प्रदेश ३ को संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा पौडेलले अष्टलक्ष्मी शाक्यलाई १० मतको अन्तरले हराउँदै आफूलाई संसदीय दलको नेतामा सुरक्षित गराएका हुन्। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सार्वजनिक गरिएको मत परिणाममा पौडेललाई ३४ र शाक्यलाई २४ मत प्राप्त भएको थियो। एमालेभित्र पौडेल ओली निकट र शाक्य माधव नेपाल निकट मानिन्छन्।

एमालेले प्रदेश नं ३ कै सभामुखमा सानुकुमार श्रेष्ठलाई बनाउने निर्णय गरेको छ। श्रेष्ठ एमालेभित्र अध्यक्ष केपी शर्मा ओली निकटका हुन्। श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर २ ‘क’ बाट प्रेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

यसअघि, उपसभामुखमा माओवादीले राधिका तामाङलाई छानिसकेको छ। प्रदेश ३ को मुख्यमन्त्री र सभामुख एमालेलाई र उपसभामुख माओवादीलाई वाम गठबन्धनको भागबन्डा लगाइएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button