पोखरा ३१ का वडाध्यक्ष बिरुद्ध भट्टराईले हाले अख्तियारमा उजुरी, जग्गा खार्दा आर्थिक लेनदेन गरेको दाबी

पोखरा न्युज , २८ माघ ।

पोखरा लेखनाथ महागरपालिका वडा नम्बर ३१ लामास्वाँराका भट्टराई परिवारले अख्तियारमा उजुरी हालेका छन । बामदेव भट्टराई र उनका छोरा मोहन भट्टराईले आफुहरुसंग अनुमति बिना वडा कार्यालयले सँधियारलाई जग्गा खार्न दिदा आर्थिक लेनदेन भएको हुनसक्ने भन्दै अख्तियारमा उजुरी हालेका हुन ।

भट्टराई बुबा, छोराले सँधियार नारायणबहादुर थापा छेत्रीले वडाध्यक्ष कमलबहादुर थापालाई आर्थिक प्रलोभनमा पारेर आफूहरुसँग स्विकृति नलिई वडा कार्यालयको एकल स्विकृतिमा करीब २० फिट गहिराई हुनेगरी जग्गा खारेको भन्दै त्यसको छानविन गरी दोषी उपर कार्वाही गर्न माग गर्दै अख्तियारमा उजुरी दिएको मोहनले बताए । अख्तियारको कार्यालयमा ११७६ नम्बरको उजुरी दर्ता भएको उनले जनाए ।

उजुरीमा जग्गा खार्ने नारायणबहादुर थापा छेत्री, वडा नम्बर ३१ को कार्यालय, वडाध्यक्ष कमलबहादुर थापा, सम्बन्धित जग्गाको क्षेत्र हेर्ने कर्मचारी र जग्गा खार्ने ठेकेदारलाई बिपक्षी बनाइएको छ । निवेदनमा थापाले जग्गा खार्नुअघी कुनै सूचना जारी नगरेको, सँधियार आफूसँग स्विकृति नलिएको र वडा कार्यालयले पनि आफूसँग सोधपुछ समेत नगरी जग्गा खार्ने अनुमति दिएकाले आर्थिक लेनदेन भएको  दाबी गरिएको छ ।

खारिएको जग्गा साविक लेखनाथ नगरपालिका वडा नम्बर ९ तथा हाल पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ लामास्वाँरामा पर्छ । भट्टराईको कित्ता नम्बर १४१२, १४१४, १४१८, १४१३ र १४१५ को उत्तरपट्टीको जग्गालाई छोएको जग्गामा दक्षिणतर्फ जग्गा रहेका सँधियार थापाले खारेर अग्लो पहाडलाई समथर बनाएको दाबी गरिएको छ । पहाडलाई काटेर समथर बनाउँदा आफ्नो जग्गा डाँडाको डाँडा नै रहेको र खारिएको जग्गा निकै गहिराई (करीब २० फुट गहिराई)मा भएकाले कुनैपनि बेला पहिरो जाने÷लच्किने हुनसक्ने भट्टराई परिवारको जिकिर छ ।

जाहेरीकर्ता मोहन भट्टराईले वडामा निवेदन दिदा महानगरपालिकामा जान सुझाएको र महानगरमा जाँदा सुनुवाई नभएकाले अख्तियारमा जानूपरेको बताएका छन् । तर जग्गा सम्याउने नारायणबहादुर थापा छेत्रीका छोरा चन्द्रबहादुर थापा छेत्रीले प्रक्रिया पूरा गरेरै जग्गा खारेको दाबी गरे । महानगरपालिकाका ईञ्जिनियर कर्मचारी फिल्डमै गएर हेरेर वडा कार्यालयको स्विकृति पछि जग्गा खारिएको उनको भनाई छ । उनले उल्टै प्रश्न गर्दै भने,‘हामीले प्रक्रिया पूरा गरेरै जग्गा खारेका हौं, बकैदा महानगरको ईञ्जिनियर आएर ओके गरेका छन्, के आफ्नो जग्गा पनि खार्न पाईंदैन ? ।’ आफूहरुले घर बनाएर त्यहिं बस्ने र ब्यबसायसमेत गर्ने उद्धेश्यले जग्गा खारेको उनले बताए ।

वडाध्यक्ष कमलबहादुर थापाले भने यो विषय वडाको अधिकार क्षेत्रभित्र नपरेकाले महानगरपालिकामा पठाएको (फर्वार्ड) गरेको बताए । उनले भने,‘हामीलाई जग्गा खार्ने भनेर निवेदन आयो, त्यो हाम्रो अधिकार क्षेत्र बाहिर पर्ने भएकाले महानगरपालिकामा पठायौं, महानगरले ईञ्जिनियर फिल्डमा पठाएर मुचुल्कासमेत तयार गरेपछि जग्गा खारेको हो ।’ यद्वपी जग्गा खार्नुअघी सँधियारसँग अनिवार्य स्विकृति लिनुपर्ने भएपनि त्यसो नगरेको भन्ने सुन्नमा आएको तर आफ्नो अधिकार क्षेत्र बाहिर रहेकाले आफू त्यसबारे अनभिज्ञ रहेको बताए । वडाध्यक्ष थापाले जग्गा खनुञ्जेल चुप लागेर बस्नु सँधियार भट्टराईको पनि गल्ती भएको टिप्पणी गर्दै भने,‘जग्गा खारुञ्जेल उनी किन चुप लागेर बसे? किन त्यतिबेलै रोक्न सकेनन् र अहिले बखेडा झिकिरहेका छन् ? उनले पनि यसको जवाफ दिनुपर्छ ।’

उनका अनुसार जग्गा खार्ने थापाले सँधियारको जग्गा लच्किएमा, पहिरो गएमा त्यसको ब्यबस्थापन र क्षेतिपुर्ति दिने बाचासमेत गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button