म्याग्दीको एउटै गाउँबाट वार्षिक एक करोडको दूध बिक्री

पोखरा न्युज – २९ माघ ।

आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीको लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि जिल्लाको सिंगा गाउँका युवा उदाहरणीय बनेका छन् ।

बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड आम्दानी गरेका छन् । यहाँका युवाले दूध बिक्री गरेर मासिक रु ४० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्ने गरेका सिंगाका नवराज पौडेलले बताए ।

कतारबाट फर्किएर गाउँमा भैँसीपलन गरेका बेनपा–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक रु एक लाखभन्दा बढी कमाउन थालेको बताए । उनले २०६८ सालमा रु एक लाख लगानीमा दुईवटा भैँसी खरिद गरेका हुन् । दूध बिक्रीबाट मनग्य आम्दानी हुने देखेपछि केसीले अहिले छ वटा भैँसी र एउटा उन्नतजातको जर्सी गाईबाट दैनिक ७० लिटर दूध बजारमा बिक्री गर्छन । केसीमात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिक रुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक रु एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन् ।

गाउँमा जनभावना दुग्ध सहकारी संस्थाको स्थापना भएपछि घरघरमा व्यावसायिक पशुपालनमा प्रोत्साहन गरिएको छ । सहकारीमार्फत ३०० र किसानले व्यक्तिगत रुपमा १५० लिटर दूध बजारमा पु¥याउने गरेको सहकारीका सञ्चालक कोपिलाल पौडेलले बताए । “एक करोड रुपैयाँको त हिसाबै देखिन्छ, यसभन्दा धेरै बिक्री हुन्छ,” उनले भने । बजारमा दूध प्रतिलिटर रु ८५ सम्ममा बिक्री हुन्छ भने किसानले रु ६५ प्रतिलिटरमा सहकारीलाई दूध बेच्दै आएका छन् ।

गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन् भने करिब ४२ घरमा व्यावसायिक रुपमा गाई भैंसी पालिएको छ । पशुसेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सो सहकारीले संकलन गरेको दूधलाई बजार लैजान कर्मचारी परिचालन गरिएको छ । सहकारीमार्फत दूध बेच्ने किसानलाई सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले लगानीसमेत गर्ने भएकाले पनि किसान सहकारीको अभियानमा आकर्षित भएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button