पोखरामा ‘द लस्ट ट्रायल’ पदयात्रा

पोखरा न्युज – ०१ फागुन । 

पुर्खाले खनेका गोरेटा बाटा ग्रामीण भेगमा यातायातको सञ्जाल विस्तारसँंगै क्रमशः लोप हुँदै गएको सन्दर्भमा तिनीहरुको पहिचान, संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यका साथ पोखराका महिला पर्यटन व्यवसायी जुटेका छन् ।

ड्यामसाइडदेखि सुरु भई विश्वशान्ति स्तुपा, अनदुहुँदै लेकसाइडसम्मको करिब ५ किलोमिटर पदयात्राको संरक्षण र प्रवद्र्धन गर्न नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजना तथा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को सहआयोजनमा ‘द लस्ट ट्रायल’ पदयात्रा सम्पन्न भएको छ ।

यातायात साधनको विकास र विस्तारसंँगै छोट्टिदै गएको पर्यटकको बसाइँलाई विभिन्न पदमार्ग र पर्यटकीय केन्द्रको खोजीसँगै लम्ब्याउन सकिने पर्यटन व्यवसायीको दावी रहेको छ । स्थानीय क्षेत्रको प्रचारप्रसार, सम्बन्धित क्षेत्रका व्यवसायको प्रवद्र्धन, कला संस्कृतिको जर्गेना र पर्यटकलाई मनोरञ्जनको भरपर्दो माध्यमको रुपमा पदयात्रालाई लिइएको छ । पदयात्राले पर्यटन व्यवसायमात्रै नभै स्वयं पयर्टकलाई पनि विभिन्न फाइदा हुने कुरालाई कसैले नकार्न सक्दैन ।

पोखरा पर्यटन परिषद् अध्यक्ष केदारनाथ शर्माले नयाँ नयाँ पदमार्ग र सम्भावनाको खोजी र संरक्षण गर्न सकेमा सिंगो पर्यटन व्यवसायलाई सहयोग पुग्ने बताए । पर्यटन व्यवसायमा संलग्न महिलाहरुको सक्रियतामा हराउँदै गएको पदमार्गको खोजी र प्रवद्र्धन गरिएकोमा खुशी व्यक्त गर्दै शर्माले पर्यटन व्यवसायमा संलग्न अन्य संघसंस्थाले पनि सिको गर्नुपर्ने बताए ।

नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले पर्यटन व्यवसायलाई प्रवद्र्धन र सम्वद्र्धन गर्ने १० वटा कार्यक्रम आयोजना गर्ने योजना रहेको बताए । ड्यामसाइड–स्तुपा–अनादु–लेकसाइट रुट प्रचलनमा आएको रुट भए पनि व्यावसायिक दृष्टिकोणले व्यवस्थित रुपमा सञ्चालन गर्न सकेमा सिंगो पर्यटन व्यवसायलाई टेवा पुग्ने बताए ।

पदयात्राले स्थानीय उत्पादनको अभिवृद्धि हुनुको साथै पर्यटकको पोखरा बसाइँ थप एक दिन लम्बिने सम्भावना रहेको छ । प्रचार प्रसारको माध्यममार्फत ड्यामसाईड–स्तुपा–अनादु–लेकसाईड रुटलाई स्थापित गर्न सकेमा पोखराको पर्यटनमा नयाँ आयाम बन्ने विश्वास लिइएको छ । यसलाई धार्मिक, मनोरञ्जन, हिमालय दृष्यावलोकन र स्वास्थ्यको दृष्टिकोणले पनि ड्यामसाईड–स्तुपा–अनादु–लेकसाईड पदमार्ग उपयुक्त देखिन्छ । पोखरा भित्रिने पर्यटकमध्ये हाइकिङका सौखिनले मात्रै ड्यामसाइड–स्तुपा–अनादु–लेकसाईड रुटलाई अवसरको रुपमा प्रयोग गर्न सकेमा पर्यटन व्यवसायमा ठूलो प्रभाव पर्ने देखिन्छ ।

पोखराको सेरोफेरोमा धरै पर्यटकीय सम्भावनाका धेरै स्थान भए पनि तिनीहरु छायाँमा परेको भन्दै पर्यटन व्यवसायी महिला संघ नेपालकी अध्यक्ष लक्की कार्की क्षेत्रीले सम्भावनाको पहिचान र प्रवद्र्धनमा लाग्ने बताइन् ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले ट्रेकिङ रुटका लागि आवश्यक सुरक्षासहित उक्त रुटमा रहेका होटल तथा रेष्टुरेन्टमा सहुलियत दरमा खानपीन उपलब्ध गराउनुपर्ने बताए ।

पर्यटकीय सम्भावना बोकेका गोरेटा र स्थानको पहिचान, प्रवद्र्धन र संरक्षण गर्न सकेमा पयर्टकको बसाइँ लम्ब्याउन सकिने भन्दै उनले पर्यटन वोर्डको अगुवाईमा सबै पर्यटन संघसंस्थाको सहकार्यमा विभिन्न अभियान सञ्चालन गर्नुपर्ने तर्क गरिन् ।

पर्यटन व्यवसायी महिला संघ नेपालकी महासचिव कमला गिरीले अभियानसँगसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्नुपर्ने बताइन् । पोखरा भित्र र बाहिरका पर्यटकीय सम्भावनाको खोजी गर्दै संरक्षण र प्रवद्र्धन गर्नतर्फ टेवान सधैँ लागिरहने गिरीको दावी रहेको छ । टेवानको सहआयोजनामा सम्पन्न द लस्ट ट्रायल हाईकिङमा पोखराको पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकार सहित ६० जनाको सहभागिता रहेको थियो ।

स्थानीय सरिता क्षेत्रीले ड्यामसाईड–स्तुपा–अनादु–लेकसाईड पदमार्गको रुट व्यावसायिक रुपमा सञ्चालन भएमा धेरैलाई फाइदा पुग्ने बताइन्। स्थानीय विद्यालयको शिक्षण पेशा त्यागेर पर्यटन व्यवसायमा लागेकी क्षेत्रीले पर्यटकीय, धार्मिक, मनोरञ्जनात्मक र स्वास्थ्यको दृष्टिकोणले पनि यो रुट उत्कृष्ट ठहरिने बताइन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button