पोखराको शान्ति स्तुपामा ‘शान्तिका लागि दौड’ अभियान

डीएनबी, पोखरा न्युज – १ फागुन । 

पोखराको विश्वशान्ति स्तुपामा मंगलबार नेपालसहित १६ राष्ट्रका धावकहरु सेतो टिसर्ट लगाउँदै शान्तिदीप अर्थात टर्च लिएर दौडिए। सेताम्मे हिउँले भरिएका माछापुच्छ्रे सहितका हिमश्रृंखलाले उत्तरबाट स्वागत गरिराख्दा विश्वमा शान्तिको कामनासहित १६ राष्ट्रका धावकहरु पोखराको अनदुडाँडाँमा रहेको विश्वशान्ति स्तुपामा धावकहरु पुगेका हुन्।

श्री चिनमोही सेन्टर नेपालको आयोजनामा मंगलबार पोखराको विश्वशान्ति स्तुपामा शान्तिको कामना गर्दै शान्तिका लागि दौड अभियान अन्तरगत विभिन्न राष्ट्रका धावकहरुले शान्ति टर्च हातहातबाट एक आपसमा पास गरी शान्तिको कामना गरेको कार्यक्रम संयोजक नेपाल श्वेता प्रधान ‘लदेन’ले बताइन्।

नेपाल ओलम्पिक कमिटिका सदस्य तथा नेपाल ह्याण्डवल सघंका अध्यक्ष तेजबहादुर गुरुङले शान्तिदीप प्रज्वलन गर्दै यस्तो कार्यक्रमले विश्वमा शान्ति स्थापना गर्नमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। ‘शान्तिको लागि दौड अभियान पोखरासम्म १६ राष्ट्रका धावकहरु आउनु हाम्रो लागि पनि गौरवको कुरा हो,’ उनले भने, शान्तिको लागि दौड अभियानले विश्वका धेरै मुलुकमा शान्ति स्थापना गर्नमा सहयोग पुग्नेछ।’

विभिन्न राष्ट्रका धावकसहित विश्वशान्ति स्तुपा संरक्षण समितिका अध्यक्ष शंकर गुरुङ, पोखरा लेखनाथ महानगरपालिका कार्यालयका बरिष्ठ अधिकृत ओमराज पौडेल, अग्रज खेलाडी दिनेश श्रेष्ठ लगायतले टर्च एक आफसमा पास गरी शान्तिको कामना गरे।

सन १९९७ सालदेखि सुरु भएको शान्तिका लागि दौड अभियान हालसम्म एक सय ५० राष्ट्रमा विभिन्न देशका धावकहरु पुगेर टर्च एक आपसमा पास गरी शान्तिको कामना गरेको श्वेता प्रधान ‘लदेन’ले बताइन्। ‘शान्ति हृदयबाट आउँछ,’ ‘हामीले आफैबाट शान्ति सुरुवात गर्नुपर्छ भनेर यो अभियानमा लागेका हौं,’ उनले भनिन, ‘एक हातबाट अर्कोको हातमा टर्च पास गर्दै यसलाई विश्वका विभिन्न मुलुकसम्म पुर्याउने अभियानमा हाम्रोसमेत साथ र सहयोग रहन्छ।’

आफुहरुले काठमाण्डौंमा शान्तिको लागि दौड गरेसंगै पोखरामा पनि केही बिद्यालयसम्म पुग्ने योजना भएको उनले जनाइन्। मित्रराष्ट्र भारत, बंगलादेश, जापान, फ्रान्स, न्यूजिल्याण्ड, अमेरिका लगायतका १६ देशका महिला तथा पुरुष धावकहरु दौडका अभियानमा छन्। शान्ति स्तुपादेखि रिले दौडको रुपमा टर्च वाल्दै लेकसाईडसम्म लगिएको थियो। उक्त दौडमा सहभागी हुँदा आफूहरुलाई शान्तिप्राप्त भएको महशुस भएरै काठमाण्डौंदेखि पोखरासम्मको अभियानमा आएको अभियानमा सहभागीमध्यका एक सन्तकुमार मेहताले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button