पोखराको ३ नं वडाले शुरु गर्‍यो छुट्टाछुट्टै फोहर व्यवस्थापन गर्ने अभियान

पोखरा न्युज – ०१ फागुन । 

पोखरा लेखनाथ महानगरपालिकाको ३ नं वडाले श्रोतबाट सिर्जित फोहरलाई छुट्टाछुट्टै बिसर्जन गर्ने अभियान शुरु गरेको छ।

बातावरण सुधार नेपाल प्रा.लि.को सहयोगमा वडाले मंगलबारदेखि उक्त अभियान शुरु गरेको हो। महानगरपालिकाद्धारा जैविक र अजैविक श्रोतबाट बर्गिकरण गरेर फोहर व्यवस्थापन गर्ने सचेतना कार्यक्रमको अभियान शुरु गरेको महानगरपालिका कार्यलय सरसफाई शाखा प्रमूख कल्पना बरालले जानकारी दिइन्।

शाखा प्रमुख बरालका अनुसार महानगरपालिकाको ३३ वडामध्ये ३ नं वडाबाट यस्तो अभियान शुरु गरेको हो। यसपछि, तत्कालै महानगरपालिको २, ४ र ११ नं वडाबाट यस्तो अभियान थालनी गरिने बरालले बताइन्।

महानगरपालिका–३, का वडा अध्यक्ष रबिन्द्रबहादुर प्रजुले महानगरको वडाहरुमध्ये ३ नं वडाले पहिलोपटक यस्तो अभियान शुरु गरेको सार्वजनिक गरे। प्रजुले वडाभित्रको सार्वजनिकस्थलहरुमा फोहर नफाल्न वडावासीलाई आग्रहसमेत गरे। श्रोतबाट सिर्जित फोहरहरुलाई महानगरपालिकाको गाडीमा फोहर व्यवस्थापन गर्न उनको आग्रह थियो। प्रजुले भने, ‘जथाभावी फोहर फाल्नेलाई पाँच हजारदेखि ५० हजारसम्मको जरिवाना गरिन्छ।’

कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं २ का वडा अध्यक्ष रामेश्वर मल्लले आफ्नो वडामा यस्तो अभियान एक हप्ताभित्रै शुरु गर्ने प्रतिबद्धता जनाए।

वडा नं ४ का वडा अध्यक्ष शंकरप्रसाद बास्तोलाले आफ्नो वडामा यस्तो अभियान तत्काल थालनी गरिने र अभियानलाई संपूर्ण वडावासीले सहयोग गर्नुपर्नेमा जोड दिए।

महानगरपालिकाको ३ नं वडाभित्र सञ्चालित ज्ञानभूमी मावि, बालमन्दिर मावि, कन्या क्याम्पस, स्थानीय आमा समूह र युवा क्लबलाई मंगलबार ४० वटा डस्टबीनसमेत प्रदान गर्‍यो। पोखरा लेखनाथ महानगरपालिका वडा नं ३ का वडाअध्यक्ष रबिन्द्रबहादुर प्रजु, वडा नं २ का वडाअध्यक्ष रामेश्वर मल्ल, वडा नं ४ का वडाअध्यक्ष शंकरप्रसाद बास्तोला, महानगरपालिका कार्यलय सरसफाई शाखा प्रमुख कल्पना बराल र वातावरण सुधार नेपाल प्रा.लि.का सञ्चालक बिदुर गिरीले डस्टबीन प्रदान गरेका हुन्।

पोखरा लेखनाथ महानगरपालिका–३, का वडाअध्यक्ष रबिन्द्रबहादुर प्रजुको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिका सरसफाई शाखा प्रमुख कल्पना बरालले स्वागत र उक्त वडाका सूचना अधिकृत श्रीकान्त तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button