पोखरेली कविहरुले कवितामार्फत यसरी सम्झिए जनयुद्धलाई

पोखरा न्युज – ०१ फागुन ।

लालबन्दी
गाउँ–घर, बस्ती अनि
मझेरी शून्य–शून्य लाग्थ्यो
म पंक्षी त थिए तर
बन्द सुनको पिंजडाभित्र ।
कावा खाँदै आकाशमा रमाउने
उत्कट चाहना
मेरो रगतमा हुर्कदै गरेको
परिवर्तनको काउकुती
माओ र च्वेका पुस्तकहरुले
मेरो मस्तिष्क लाल बनाएको थियो ।
दर्शनको गहिरो छाप
बिचारको पहिलो प्रक्षेपण
मैले रगतको टिका लगाएको त्यो दिन
तिमिलाई सम्झना होला
तिमिलाई सम्झना होला ।
मृत्युमा जीवन देख्ने
हाम्रा सिद्धान्तहरुमा
कहिल्यै मतभेद भएन ।
माटोको ओछ्यान, ढुङ्गाको सिरानी
प्रिय लाग्थ्यो लेक र खर्कका विहानी
अजम्मरी छन् सपनाहरु
अजम्मरी छन् सपनाहरु ।
आज समय फेरिएको छ
म फेरिएँ, तिमि फेरिएका छौ
तर, मभित्रका एउटा मान्छे
सखारैको घामजस्तै
ज्वाजल्यमान भएर झुल्किदैंछ
जुन मान्छेसंग तिमिले
लामो यात्रा गरेका छौ ।
जिते, हस्तिनापुरको राज
मरे, मुक्ति भन्दै
साम्यवादको सपना बाँडेका थियौ ।
आज तिम्रो परिभाषा बदलिएको छ
‘सबै रोगको उपचार
हिमालय तेल’ भन्छौ
‘सबै रोगको उपचार
हिमालय तेल’ भन्छौ ।
लाग्छ, तिमिभित्रको त्यो दृढ मान्छे
कुहिरोमा हराएको कागजस्तै बनेको छ ।
तिमि थाक्न लागेको भान हुन्छ
तिमि थाक्न लागेको भान हुन्छ।
काँध तिम्रो
अनि बन्दुक पड्काउने अरु कोही
साँध तिम्रो
अधिकार जमाउने अरु कोही
यस्तै–यस्तै, यस्तै–यस्तै ।
म भन्दिन पटुकीमा ढुङ्गा बाँधेर
खोला तरिन्छ
अनि, म भन्दिन
अक्सिजन र कार्वनबिना
यो सृष्टि चल्छ भनेर
बस, आफूलाई फेरि एकपटक छाम
विगतको सिंहावलोकन गर
त्यहीँ छ, एउटा साझा सपना
हो, त्यही सपनाको निर्माणमा लाग्छु म
नयाँ उत्साह बोकेर
कुरिरहेको छ, हामीलाई एउटा समय
पक्कै पुगिनेछ गन्तबयमा ।

प्रस्तुत कविता उदीयमान कवियित्री निर्मला न्यौपानेको हो। २३ औं जनयुद्ध दिवसको सन्दर्भमा अखिल नेपाल लेखक संघ, प्रदेश नं ४ ले मंगलबार पोखरामा आयोजना गरेको कविता वाचन कार्यक्रममा कवियित्री न्यौपानेले केही आशा र निराशाको भावलाई ‘लालबन्दी’ शिर्षकको कवितामार्फत जनयुद्धलाई यसरी सम्झिइन्। निर्मलाले जस्तै, छन्दिका त्रिपाठी, रमा अधिकारी, देवी त्रिपाठी, सुरेश रानाभाट, सर्बज्ञ श्रेष्ठ, सूर्य खड्का ‘बिखर्ची’ माधवप्रसाद सुवेदी, परशुराम कोइराला, पद्मराज ढकाल लगायतका प्रगतिशील कवि, कवियित्रीहरुले संघर्ष, क्रान्ति र परिवर्तनका कविताहरु प्रस्तुत गरेका थिए।

प्रगतिशील जनगायकहरु काजी गाउँले, बिकास लुङ्गेली र रोशन तामाङ सम्मिलित संगम सांस्कृति मञ्चद्धारा जनता र युगको गीत र संगीत प्रस्तुत गरिएको थियो। बरिष्ठ मानवअधिकारकर्मी एवम् पोखराका पाका बामपन्थी नेता टेकनाथ बरालले प्रगतिशिल कवि एवम् सहिद कृवष्ण सेर्न इच्छुक’को ‘पुर्खे सुनारकी आमा’ शिर्षकको कविताको केही अंश बाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घाटन शिलशिलामा बरालले बाचन गरेको ‘पुर्खे सुनारकी आमा’ कविताको अंश यसरी बाचन गरेका थिए।

म त क्रुद्ध लालभैरवी हुँ
म बिर्खु सुनार्नी
नयाँ जनसमरकी नयाँ जनगाथा
मेरो थप परिचय भन्नु केही छैन

कार्यक्रममा दलित साहित्य प्रतिष्ठानका अध्यक्ष केशबहादुर परियार, बरिष्ठ प्रगतिवादी कवि पोषराज पौडेल, युवा लेखक गनेश पौडेल, कवि एवम् जनयुद्धकी घाइते गोमा घिमिरे ‘रुची’ लगायतले जनयुद्धबारे बोलेका थिए। अखिल नेपाल लेखक संघ प्रदेश नं ४ का संयोजक मदन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कवि भीम रानाभाटले स्वागत र नारायण मरासिनीले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button