गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा, राजधानीका ५ तारे होटल भरिभराउ

सुरु भयो एप्रिकट २०१८

पोखरा न्युज – १३ फागुन । 

विश्वभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) नेपालमा सुरु भएको छ ।

एप्रिकोटको २२ बर्षे इतिहासमा सबैभन्दा बढी प्रतिनिधि सहभागी भएको यस समिटको संयोजन इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपिआइएक्स)ले गरेको छ । सम्मेलनको आयोजना एशिया प्यासिफिक इन्टरनेट एसोसिएसन (एपिआइए) र एशिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपिएनआइसी)ले संयुक्त रुपमा गरेका हुन् ।

सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमीमा बसेर काम गर्ने प्रतिनिधिको सहभागीता रहेको एनपिआइएक्सका अध्यक्ष गौरवराज उपाध्यायले जानकारी दिए ।

एप्रिकोटको पहिलो चरणमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले इन्टरनेट अफ थिङ्स, सुरक्षा, नेटवर्क ब्यवस्थापन र राउटिङ विषयमा प्रशिक्षण दिएका थिए । तालिममा १ सय ९० जनाको सहभागिता थियो । सम्मेलनको औपचारिक उद्घाटन भने आइतबार याक एन्ड यति होटलमा हुँदैछ ।

यस सम्मेलनमा ग्लोबल इन्टरनेट टेक्नोलोजीका विविध विषयमा छलफल हुने उपाध्यायले जानकारी दिए । सम्मेलनमा इन्टरनेट जाइन्ट कम्पनीहरु गुगल, फेसबुक ट्वीटरलगायतका प्रतिनिधिहरु पनि सहभागी हुन आइपुगेका छन् ।

सम्मेलनको प्रमुख बक्ता भिप्टेलाका सहसंस्थापक अमिर खान हुनेछन् । भिप्टेला अल्टरनेटिभ नेटवर्किङ कम्पनी हो । यसलाई गत बर्ष ग्लोबल जाइन्ट कम्पनी सिस्कोले ८ सय मिलियन डलर (करिव ८० अब रुपैर्याँ ) मा किनेको थियो ।

त्यस्तै समापनमा प्याकेट फेब्रिकका सहसंस्थापक विल चार्नोकले आफ्नो मन्तब्य राख्नेछन् । विलले सफ्ट लेयरका लागि नेटर्व बनएका थिए । यसलाई आइबिएमले सन् २००८ मा खरिद गरेको थियो । यस्तै म्यागासेसे विजेता महाबिर पुनले भविष्यका स्मार्ट सिटीहरु कस्तो हुनेछन् भन्ने बारे आफ्नो धारणा राख्नेछन् ।

सम्मेलन १० दिनसम्म चल्नेछन् । त्यसमध्ये ५ दिनसम्म सम्मेलनपूर्वका कार्यशाला भइसकेका छन् । वर्कसप सकिएपछि सेक्योर राउटिङ, सफ्टवेयर डिफाइन्ड नेटवर्किङ (एसडिएन) र नेटवर्क फङ्सन भच्युअलाइजेसन (एनएफभी) मा केन्द्रीत रहेर सम्मेलन निरंतर हुनेछ । शनिबार एशियाभरका इन्टरनेट एक्स्चेन्ज संचालक (एपिआइएक्स) हरुको सम्मेलन भएको छ । त्यसमा यस क्षेत्रका ४० देशका प्रतिनिधि सहभागी थिए ।

सम्मेलन अनुभव आदान प्रदान र सिकाइमा केन्द्रीत रहने उपाध्यायले जानकारी दिए । एप्रिकट सुरु हुँदा सुरुसुरुमा केही सीमित इन्जिनियरहरु सहभागी हुन्थे । पछिल्लो समय नीति निर्माण तहमा रहेकाहरुसमेत सहभागी हुन थालेकाले यति ठूलो इभेन्ट हुन थालेको हो ।

कसरी सम्भव भयो नेपालमा यति ठूलो सम्मेलन गर्न ?

सहभागी एशिया प्यासिफिक इन्टरनेट एसोसिएसन (एपिआइए)ले २२ बर्षअघि एप्रिकट सुरु भएको हो । सन् २००२ मा नेपालबाट इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपिआइएक्स) का गौरव उपाध्याय सहभागी हुँदै आएका थिए । एनपिआइएक्स नेपालमा स्थापना गर्दा एपिआइएले समेत सहयोग गरेको थियो ।

उनलाई त्यतिखेरै लागेको थियो, कुनै दिन यस्तो सम्मेलन नेपालमै गर्नु पर्छ । उनले केही बर्षदेखि यसका लागि लविङ गर्दै आएका थिए । पहिले एप्रिकट गर्न विडिङ गर्नुपथ्र्यो । नेपालमा १ हजार जनाभन्दा बढी सहभागी हुने कार्यक्रम पाँचतारे होटलमा गर्न स्रोत जुटाउन सम्भव थिएन ।

एक पटक गौरव एप्रिकटको बोर्डमा पुगे । त्यतिखेर उनले आफ्नो जस्तो अल्पविकसित मुलुकमा समेत यस्तो महासम्मेलन गर्नु पर्ने प्रस्ताव गरे ।
नेपाल यस्तो महासम्मेलन गर्न सक्षम छ भन्ने देखाउन उनीहरुले करिव ३ सय जना सहभागी हुने साउथ एसियन नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को सम्मेलन आयोजना गरे । त्यति बेला एपिआइएका प्रतिनिधिलाई यहाँको अबस्था बुझ्न निम्त्याए ।

‘हामीले ३ सय जना सहभागी कार्यक्रम सफलतापूर्वक गरेर देखाएपछि उनीहरुले पत्याए,’ उपाध्यायले भने, ‘त्यसपछि दुई बर्षअघि न्युजिल्याण्डामा भएको कार्यक्रममा एप्रिकट नेपालमा गर्ने भनेर घोषणा गरिएको थियो ।’

नेपालमा हुने घोषणापछि आफूहरुले २ बर्षदेखि सम्मेलनको तयारी गरेको उपाध्यायले बताए । ‘हामीले याक एन्ड यति होटलको स्वरुपसमेत परिवर्तन गर्न आग्रह गर्यौं,’ उपाध्यायले भने, ‘होटलमा रयाम्प, एक्जिटको साइनेटलगायतका कुुराहरु यही सम्मेलनलाई लक्षित गरेर राखिएका हुन् ।

नेपालमा भएको सम्मेलन नेपाली आइटी क्षेत्रका सहभागीलाई ठूलो अबसरका रुपमा आएको छ । त्यसैले २ सय डलर दर्ता शुल्क तिर्नु पर्ने सम्मेलनमा नेपालबाट २ सय ५० भन्दा बढीले सहभागिता जनाएका छन् । ‘विदेश जानु पर्ने भए लाखौं रुपैयाँ खर्च गर्नु पर्छ’, उपाध्यायले भने, नेपालमै यत्रो ठूलो कार्यक्रम हुनु सबैका लागि अबसर हो ।’

सम्मेलनमा १ सय ५० जना बंगलादेशी, ८० जना अमेरिकी, त्यतिकै संख्यामा भारतीयलगायत ६५ देशका प्रतिनिधि सहभागी छन् । फेसबुक, गुगलजस्ता जाइन्ट कम्पनीका प्रतिनिधिसमेत सहभागी भएकाले यो महासम्मेलन नेपालीहरुलाई नेटवर्क विस्तारका लागि सहायक सिद्ध हुने उपाध्यायको दावी छ ।

सम्मेलनमा आएका विदेशी प्रधिनिधिको खर्चले नेपालको पर्यटन प्रबर्धनमा समेत ठूलो सहयोग पुगेको छ । यतिखेर पाँच तारे होटलहरु याक एन्ड यती, अन्नपूर्णा, र्याडिसन तथा ठमेल क्षेत्रका पर्यटकीय होटलहरु एप्रिकटमा सहभागी हुन आएका प्रतिनिधिले भरिभराउ छन् । ‘विदेशका ७ सय प्रतिनिधि औषतमा ५ दिन बस्दा ३५ सय दिन हुन्छ,’ उपाध्यायले भने, ‘औषतमा उनीहरुले दिनको १ सय डलर खर्च गर्दा ३ लाख ५० हजार डलर (करिव ३ करोड ५० लाख रुपैयाँ) खर्च गर्छन् ।’ उनले होटलमा आयोजकले गर्ने खर्च पनि करोडौं हुने उनको दावी छ ।

नेपालमा यति बृहद् सम्मेलन गर्न सकेकामा इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपिआइएक्स) का अध्यक्ष उपाध्याय मख्ख छन् । ‘हामीले यति ठूलो सम्मेलन सफलतापूर्वक गर्न लागेको छौं,’ उनले भने, ‘यसले बीदेशीहरुबीच नेपालको बारेमा सकारात्मक सन्देश प्रवाह हुने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button