जीवनका केही अनुभूतिहरु र सामाजिक परिवेशका बिम्बहरु नै मेरो गीत हुन् – राखी गौचन

नेपाली सांगीतिक बजारको अवस्था जस्तो सुकै होस्, गहन श्रृजना गरेर बाहिर आउने श्रृजनशील श्रष्टाहरुको कमी छैन । केहि समय अघि मात्र राखी गौचनको रचनामा एकैदिन दुई वटा एल्बमहरु “जानी नजानी” र “परिभाषा”सार्वजनिक भए । पछिल्लो समय सुगम संगीत क्षेत्रमा एउटा चर्चा बनाईसकेकी गायिका बानिका प्रधानले “जानी नजानी” एल्बमका गीतहरुमा स्वर भरेकी छिन् भने २५ बर्ष लामो समय सांगीतिक क्षेत्रमा योगदान दिएका समधुर स्वरका धनि गायक सुरज कुमार थापाले “परिभाषा” एल्बमको गीतहरुमा स्वर भरेका छन् । यसर्थ : गायिका बानिका प्रधान र सुरज कुमार थापाको पनि सोलो एल्बमहरु हुन् भनेर फरक पर्दैन ।

गीतकार राखी गौचन केहि समय यतादेखि अमेरिकामा बसोबास गरिराखेकी छिन् । नेपाली संगीत माहौलको गीतिलेखन क्षेत्रमा कमै मात्र सुनिएको राखी गौचनले एकाएक दुईवटा एल्बमहरु किन पस्किए ? उनको गीति लेखन यात्रा, अनुभव र यि दुई एल्बमहरुको बिषयमा पोखरा न्युज डट कमका अनुज कुलुङले  गरेको कुराकानी :

नेपाली गीति क्षेत्रमा यहाँको गीतहरु यतिका अब्बल हुदा हुदै पनि निकै ढिलो गरी यहाँको नाम हामीले सुन्न पायौ । के यो सत्य हो ? यदि हो भने यो ढिलो सुनाई किन भयो ?
– सर्बप्रथम त धन्यबाद यहाँलाई यो प्रोटल प्रदान गर्नु भयो र प्रश्नमै मेरा गीतहरुलाई अब्बलको विशेषण लगाईदिनु भयो ।सायद हरेक कुरा जीबनमा सोचे जस्तै हुँदा हुँन् त गीतकार राखी गोैचन दुई दशक पहिला नै नेपाली गीति लेखनमा स्थापित भै सक्थ्यो होला ।हरेक कुराको निश्चित समय हुँदो हो र परिस्थिति निर्माण हुँदो हो । म हतार गर्न चाहने आद्दतको मान्छे पनि होइन त्यसैले लामो समय देखि गीत लेखनमा लागेको भएपनि मैले एल्बम निकाल्ने हतारो गरिनँ तथापि मेरो रचनाहरु यो भन्दा पहिला नै रेकर्ड भैसकेका छन्।

एकैपटक दुईवटै एल्बम निकाल्नुभयो । त्यो पनि एकै दिन रिलिज गर्नुभो । किन ?
हरेक कुरा संयोगबश हुने गर्छन् , मलाई त लाग्छ जीवन नै संयोगहरुको श्रृङ्खला हो । किन एकैचोटी त्यो पनि एकैदिन दुईवटा एल्बम विमोचन गरें हुँला ? कुनै सुनियोजित कारण त छैन र पनि लामो समयदेखि लेखिएका रचनाहरुलाई बाहिर ल्याउनु थियो । लेखेर मात्रै पनि त भएन ।लेखनको सार्थकता तर्फ उन्मुख हुनु पनि थियो । त्यसैले मैले धेरै मेहनत , लगन र धर्यतालाई आत्मासाथ गरेर यी एल्बम निकालेको हुँ । यो मेरो कुनै रहर लहडका फेहरिस्त मात्रै होईन ।

पछिल्लो समयमा चर्चामा आइरहनुभएको सुगम गायिका बानिका प्रधान र सुरज कुमार थापासँग सहकार्य कसरी सम्भव रहन गयो ?
– अलिकती चलेको सुगम संगीतलाई बुझ्ने गायक गायिका खोज्दै थिए यहि क्रममा बानिका बहिनी र सुरज जि संग भेट भो । उहाँहरूले पनि मेरो शब्दलाई मन पराई दिनु भो । यसरी हाम्रो सहकार्य सुरु भो । बिश्वब्यापिकरणले संसार एउटा घर जस्तै भएको छ ।हरेक मान्छे घरका परिवार जस्तै भएका छन् । यस्तो युगमा बाँचिरहेका हामी छोै फेरी सूरज जी र बानिका जी सङ्ग सहकार्य असम्भब हुने कुरा पनि त होइन । उहाँहरु राम्रो स्रस्टा हुनुन्छ ।

कस्तो कस्तो गीतहरु एल्बममा समावेश गर्नुभएको छ ?
– म बिशेषत आधुनिक गीत लेख्न रुचि राख्ने मान्छे हुँ , प्राय भाबुकताको गहिराईमा डुबेर लेखिएका शब्दहरु हुँन् मेरा । तथापी मेरा एल्बममा एक दुईवटा रोमाञ्चक प्रेमिल गीतहरु पनि छन् हजुरले सुन्न सक्नु हुँन्छ । मैले भोगेको जीवन र समाजीक परिबेशका बिम्बहरु नै मेरो गीत लेखनका बिषय बस्तु हुँन् । यसर्थमा हजुरले बुझि सक्नु भयो होला कि मेरो एल्बममा कस्ता गीतहरु समाबेश छन् भनेर ।

नेपाली संगीतको वर्तमान अवस्थालाई तपाई एक सचेत गीतकारको हिसाबले कसरी नियाल्नुभएको छ ?
– नेपाली गीत सङ्गीतको अबस्था एकदमै भरोषायोग्य र आशाबादी पनि छैन र निराश नै हुनु पर्छ जस्तो पनि लाग्दैन। पहिलेको तुलनामा धेरै बिकाश र बिस्तार भएको छ ।सुचना र प्रबिधिको तिब्र बिकाश सङ्गै गीत सङ्गीत पनि पूर्णतस् ब्यबसायिकरण भएको छ । तथापी सिर्जनशिलतालाई दाउमा लगाएर ब्यापारिकरण गरिनु पर्छ भन्ने मान्यताको बिपक्षमा उभिने ब्यक्ती हुँ म । मतलब राम्रा कुराहरु बेचिरहनु पर्दैन ती आफै स्रोता र दर्शकले मन पराउँनु हुँन्छ तर नराम्रा कुराहरुलाई टेक्नोलोजी मार्फत जसरी बेच्ने प्रयाश गरिन्छ त्यो गलत छ ।बाँकी त के भनुँ तपाईं हामी सबैले देखेकै छोै अबस्था कस्तो छ भनेर ।

श्रृजनाको थोरै कुरा गरौ, तपाईले लेख्ने गीतको श्रृजनाको माहौल कस्तो हुन्छ भनौ तपाईलाई कस्तो प्रेरणाले गर्दा गीत लेख्न उत्सुक बन्नुहुन्छ ?
– मेरो लेखनको बिषय बस्तु भनेको आम जनजीबन , मैले भोगेको आफ्नै जीबनका केही अनुभूतिहरु र सामाजिक परिबेशका बिम्बहरु नै हुँन् । चलिरहेको स्वभाबिक ट्रेन्ड भन्दा केही फरक खाले सोचमा अडिएर गीत सिर्जना गर्न मन पराउँछु म । आम मान्छेलाई मेरा गीतका भाबार्थहरु अस्वभाबिक पनि लाग्न सक्लान् तथापी मानबिय जीबनको अन्तिम सत्य त्यसैमा निहित हुँने गर्छ । कुनै कुराले जब मनमा छुन्छ तब म गीत लेख्ने गर्छु । गीत लेख्छु नै भनेर त आज सम्म लेखेको छैन् ।

बसाईले तपाई अमेरिका बस्नुहुन्छ ? अनुमानले भन्ने हो भने अमेरिकाको व्यस्त जिबन होला तपाईले यतिका गहन श्रृजनाहरु गर्ने समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
– पक्कै पनि अमेरिकी बसाई होस् वा हर कहीको जीवन यापन एकदम् ब्यस्त त हुँदै हो ।तथापी लेखनको रोग लागेपछी जति सुकै ब्यस्ततामा पनि नलेखी नसकिदो रहेछ ।मलाई लाग्छ लेखन पनि एउटा नशा हो यो नशा लिने आद्दत परेपछी ब्यस्तताले कुनै प्रभाब पार्दैन ।

कस्तो अपेक्षा गर्नुभएको छ दर्शक श्रोताहरुबाट ?
– मैले सिर्जना गरेका गीतहरु प्रकाशनमा ल्याएको छु । दर्शक श्रोताले जे निर्णय गर्नुहुन्छ त्यो उहाँहरुको आत्मनिर्णयको कुरा हो । यो मेरो गीति सिर्जनाको परिक्षण पार्ट पनि हो ।बास्तबमा मैले कालजयी गीत सिर्जना गरेको रहेछु वा रहेनछु त्यो मुल्याङ्कन आम दर्शक र सुगम गीत सङ्गीतका पारखिहरुले गर्नु हुनेछ

अन्तिममा पोखरा न्युज डट कम मार्फत केहि भन्न चाहानुहुन्छ कि ?
– मेरा केही गीत सङ्गीत प्रतिका धारणाहरु , र मैले हालसालै प्रकाशनमा ल्याएका गीति एलब्मका बारेमा यसरी केही कुराहरु राख्ने अबशर प्रदान गर्नु भएकोमा पोखरा न्युज डटकम र अनुज कुलुङ भाईप्रति आभारी छु ।मेरो भन्नु यही हो कि मैले मेरा सिर्जनाहरुलाई आम दर्शक र स्रोता माझ ह्यान्डओभर गरेको छु । हजुरहरुले जस्तो छ त्यस्तै फिडब्याक दिएर आगामी दिनमा अझै सच्चिने र सुधारिने मोैका दिनु हुँनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button