धार्मिक पर्यटक वृद्धि गर्न पशुपतिमा संकीर्तन हुने

पोखरा न्युज – १६ फागुन ।

मुलुकमा धार्मिक पर्यटक वृद्धि गर्ने उद्देश्यले पाशुपत क्षेत्रको हंशमण्डपमा शनिबार हरिनाम संकीर्तन गर्न लागिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले आयोजना गर्ने उक्त कार्यक्रममा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म भजनकीर्तन गरिनेछ । भगवान् कृष्णका अनुयायी जम्मा भई कार्यक्रममा विभिन्न १६ समूहमा बाँडिएर धर्मावलम्बीले हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे भन्ने मन्त्र (श्लोक) लाई पटकपटक कार्यक्रमको अवधिभर वाचन गरिनेछ ।

उक्त महामन्त्र सबै मन्त्रमध्ये उत्तम रहेको अनुयायीको विश्वास छ । काम, क्रोध, लोभ, मोह अहंकारजस्ता दुर्गुणलाई न्यूनीकरण गरेर मात्र मुलुकमा शान्ति र सामाजिक न्याय प्राप्त गर्न सकिने विश्वास रहेको गुरु लोचनदास अधिकारीले बताए । सो कीर्तनले विश्व ब्रम्हाण्डमा एक प्रकारको कम्पन उत्पन्न गराउने र त्यसले सहभागीलाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास छ ।

करिब एक हजार सहभागी रहने उक्त कार्यक्रम सफल बनाउनका लागि समाजसेवी प्रदीपविक्रम राणाले करिब आठ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराउनुभएको संस्थाले जनाएको छ । हिन्दू जागरण अभियानमा सक्रिय राणाले वैदिक धर्मका आधारमा विकास भएका परम्परागत मूल्य मान्यतासँग जोडिएका मानव सभ्यता, सम्बन्धलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सांसारिक बन्धनबाट मुक्ति पाउनका लागि भगवान् कृष्णले सर्वसाधारणले मनमाथि नियन्त्रण गर्नुपर्ने शिक्षा दिएको अनुयायी बताउँछन् । महाभारतकालीन समयका सशक्त पात्रका रुपमा पनि कृष्णलाई लिइन्छ । उनले महाभारतको युद्धमा समाजमा न्याय र सत्य स्थापना गर्न अर्जुनलाई धार्मिक युद्ध गर्न दिएको उपदेशको सारसंक्षेपलाई गीता भनिएको छ । गीता वैदिक ज्ञान, साहित्यको सार हो र यसलाई नैतिक शिक्षाका लागि पवित्र ग्रन्थका रुपमा हिन्दू धर्मावलम्बीले लिएका छन् ।

गुरु चिन्तामणि योगीले भगवान् कृष्णको बाल्यकाल, युवावस्था र वृद्धावस्था सबै पक्षको सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान रहेको बताए । सन् १८९६ मा भारतको कलकत्तामा जन्मनुभएका स्वामी प्रभुपादले विभिन्न गुरुसँग दीक्षा लिएर सन् १९६६ मा स्थापना गरेको इस्कोनले अहिलेसम्म विश्वका २०५ मुलुकमा सञ्जाल विस्तार गरेको छ । गुरुले सन् १९७७ मा शरीर त्याग गरेका थिए ।

उक्त संकीर्तन विधि यस कलियुगको लागि युगधर्म मानिएको छ । कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकबाट पर्यटकको आउने क्रम जारी छ । कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button