३ सय बढी नयाँ उद्योग दर्ता, २० हजारलाई रोजगारीको अवसर

पोखरा न्युज – १८ चैत्र ।

करिब २० हजारलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यसहित उद्योग विभागमा ३०२ उद्योग दर्ता भएका छन् ।

चालू आर्थिक वर्षको आठ महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताले नयाँ उद्योग स्थापनाका लागि विभागमा आवेदन दिएका हुन् ।

विभागका अनुसार कूल उद्योगमध्ये १९४ वटा उद्योग विदेशी लगानीका उद्योग हुन् भने १०८ उद्योग नेपाली लगानीकर्ताले नयाँ दर्ता गरेका हुन् ।

विभागका अनुसार कृषिजन्य १५, निर्माण तीन, ऊर्जामूलक २६, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १५, उत्पादनमूलक ८७, खनिज तीन, सेवामूलक ६७ र पर्यटन ८६ उद्योग दर्ता भएका हुन् ।

मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको र लगानीकर्तामा विश्वासको वातावरण समेत पैदा भएकाले पछिल्ला दिनमा नयाँ उद्योग दर्ता गरेर सञ्चालन गर्ने क्रम बढेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि मुलुकमा राजनीतिक स्थायित्व देखिएको र प्रायः सबै राजनीतिक दलले आर्थिक समृद्धिको विषयलाई नै प्रमुख प्राथमिकतामा राखेका कारण पनि लगानीका नयाँ अवसर थपिएका हुन् ।

पछिल्लो आठ महिनामा दर्ता भएका उद्योगमा रु दुई खर्ब ३२ अर्ब ८७ करोड ९६ लाख बराबरको लगानी हुने भएको छ । विभागका अनुसार पर्यटन क्षेत्रमा मात्रै रु १२ अर्ब ७४ करोड ४० लाख बराबरको नयाँ लगानीसम्बन्धी प्रतिबद्धता आएको छ । ती उद्योगबाट तीन हजार २५८ जनाले नयाँ रोजगारी पाउने भएका छन् ।

नेपालको आर्थिक समृद्धिको आधारका रुपमा लिइएको पर्यटन क्षेत्रमा पछिल्लो पटक लगानीको मात्रा बढ्दै गएको हो । सरकारले सन् २०२० सम्म करिब १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले सो लक्ष्य पूरा गर्ने उद्देश्यले उद्यमी व्यवसायीले पाँचतारे होटलदेखि पर्यटकीय होटल तथा रेष्टुराँमा लगानी बढाएका हुन् ।

लगानीमैत्री वातावरण बनेको भन्दै पर्यटन क्षेत्रमा लगानी बढेको होटल एशोसिएशन अफ नेपाल(हान)का महासचिव विनायक शाहको भनाइ छ । यस्तै सेवामूलक क्षेत्रमा रु तीन अर्ब ८९ करोड ५८ लाख लगानी गर्ने प्रतिबद्धता आएको छ । सो उद्योगबाट करिब तीन हजार जनाले नयाँ रोजगारी पाउनेछन् ।

आर्थिक समृद्धिको अर्को आधारका रुपमा रहेको ऊर्जा क्षेत्रमा समेत लगानीको मात्रा बढेको छ । पछिल्लो आठ महिनाको तथ्यांकलाई हेर्ने हो भने सो क्षेत्रमा रु एक खर्ब ५० अर्ब ७९ करोड लगानी भित्रिने प्रतिबद्धता आएको छ । सो परिमाणको लगानीबाट एक हजार ६०८ जनाले नयाँ रोजगारीको अवसर पाउने विभागले जनाएको छ ।

उत्पादनमूलक क्षत्रेमा लगानी गर्ने लक्ष्यसहित ८७ विभागमा दर्ता भएका छन् । त्यसमा रु ५६ अर्ब ४८ करोड २० लाखको नयाँ लगानी हुनेछ । ती उद्योगबाट करिब १० हजार जनाका लागि नयाँ रोजगारीको अवसर सिर्जना हुनेछ ।

सूचना प्रविधिको बढ्दो विकासलाई पछ्याउँदै उद्योगमा लगानी गर्ने क्रम समेत बढेको विभागको पछिल्लो तथ्यांकमा देखिएको छ । चालू आवको आठ महिनामा सूचना प्रविधिका क्षेत्रमा मात्रै १५ नयाँ उद्योग थपिएका छन् । ती उद्योगको कूल लगानी रु ५९ करोड ३० लाख बराबरको छ । ती उद्योगबााट करिब एक हजार जनाले नयाँ रोजगारीको अवसर प्राप्त गर्ने विभागले लक्ष्य लिएको छ ।

त्यस्तै कृषिजन्य उद्योगमा थप रु दुई अर्ब १३ करोड नयाँ लगानी भित्रिने भएको छ । नेपाल कृषि प्रधान देश भए पनि संगठित रुपमा कृषिमा लगानी नभइरहेको सन्दर्भमा नयाँ उद्योगले कृषिउपजको बजारीकरण तथा आर्थिक उन्नयनमा सहयोग पु¥याउने विश्वास लिइएको छ । नयाँ दर्ता भएको उद्योगबाट ३५१ जनाले नयाँ रोजगारी पाउने छन् ।

विभागका अनुसार निर्माण उद्योगमा नयाँ तीन उद्योग थपिने भएका छन् । ती उद्योगमा रु चार अर्ब एक करोड बराबरको लगानी हुनेछ भने २२८ जनाले रोजगारीको अवसर पाउने छन् ।

खनिजतर्फ नयाँ तीन उद्योग दर्ता भएका छन् । ती उद्योगमा रु दुई अर्ब २२ करोड २२ लाख बराबरको लगानी हुनेछ जस्मा ५२० जनाले रोजगारी पाउने जनाइएकोे छ ।

विभागका प्रवक्ता दुर्गाप्रसाद भुसाल नयाँ उद्योग दर्ता हुने क्रम बढेसँगै नेपालमा लगानीको वातावरण बन्दै गएको बताउछन् । राजनीतिक स्थायित्व, लगानीकर्तामा बढ्दै गएको विश्वासका कारण नयाँ उद्योग दर्ता हुने क्रम बढेको उनको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button