कास्कीमा कृषक प्रोत्साहनका लागि आर्थिक सहयोग

पोखरा न्युज – २४ चैत्र ।

रुपा गाउँपालिका कार्यालयले पशुपालक कृषकलाई प्रोत्साहनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कास्की जिल्लाको क्षेत्रफलका आधारमा सबैभन्दा सानो गाउँपालिकामा शुक्रबार उन्नत जातका बोका, राँगो, गोठ र भकारो सुधारका लागि करीब रु दुई लाख ६१ हजार बराबरको आर्थिक सहयोग वितरण गरिएको हो । गाउँसभाको निर्णयअनुसार उन्नत जातका राँगो र बोका खरिदका लागि क्रमशः रु ४० हजार र रु १५ हजार समूहगत रुपमा तथा भकारो र गोठ सुधारका लागि प्रतिकृषक रु १०-१० हजारका दरले नगद उपलब्ध गराइएको हो ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शुक्रबार भीरकोटमा आयोजित कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, कृषि र खानेपानी जोड दिई आधुनिक तरिकाबाट व्यावसायिक कृषिमा लाग्ने किसानको पक्षमा सक्दो सहयोग पु¥याउने बताउँदै पाँच स्वास्थ्यचौकीमा रु २५ लाखको लागतमा प्रयोगशाला स्थापना गरिने तयारी भइरहेको जानकारी दिए ।

क्षेत्रीय माटो परीक्षण प्रयोगशाला विरौटा र माटो विज्ञान प्रयोगशाला वन विज्ञान अध्ययन संस्था पोखरा क्याम्पसको प्राविधिक सहयोगमा गाउँपालिकास्तरीय दुईदिने माटो परीक्षण शिविरसमेत आयोजना गरिएको थियो । शिविरमा गाउँपालिका सातवटै वडाका २५१ स्थानबाट संकलन गरिएको माटो परीक्षण गरिएको माटोविज्ञ रवीन्द्र अधिकारीले जानकारी दिए ।

परीक्षणका क्रममा माटामा अम्लीयपनको मात्र बढी देखिएको छ । डिएपी र नाइट्रोजन मल बढी प्रयोग हुनाका साथै गोवर र कम्पोष्ट मलको प्रयोगका बारेमा कृषकलाई ज्ञान नहुँदा पोटासको मात्रा खस्कँदो रुपमा रहेको क्षेत्रीय माटो परीक्षण कार्यालयका वरिष्ठ माटोविज्ञ निसार अहमद खाँले जानकारी दिए । सिद्धार्थ पशुबीमाका गोविन्द देवकोटाले कृषकलाई पशुधनको सुरक्षाका लागि बीमा गरेर ढुक्क हुन आग्रह गरेका थिए ।
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा ‘आरआरटी, सिआरआरटी चौमासिक समीक्षा तथा महामारीजन्य रोग’ विषयको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जनस्वास्थ्य प्रसारक दिनेशकुमार चापागार्इंले मौसमी तथा बेमौसमी महामारी रोग पहिचान गरी उचित उपचारका लागि स्वास्थ्यकर्मी सचेत रहनुपर्ने बताए ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button