म्याग्दीमा व्यावसायिक जडीबुटी खेती शुरु

पोखरा न्युज – २६ चैत्र ।

उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले म्याग्दीको मंगला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती शुरु गरिएको छ ।

मंगला गाउँपालिका र इलाका वन कार्यालय बाबियाचौरको पहलमा झाँक्रेपानी, धापुङ, किमचौर, सिरकुम, पूर्णगाउँ, थाइवाङ र हिदीमा सतुवाको खेती शुरु गरिएको हो । दशजना कृषक छनोट गरी उनीहरुलाई तालीमसँगै निःशुल्क बिरुवा वितरण गरेर सतुवा खेती शुरु गरिएको जिल्ला सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताए ।

धापुङका जितबहादुर मगर, झाँक्रेपानीकी सम्झना रोका, सिरकुमका खडानन्द सापकोटा, पूर्णगाउँका नरबहादुर खत्री, थाइवाङका दधीलाल जैसी, हिदीका हेम शेरपुञ्जा, विष्णु शेरपुञ्जालगायतले १७ हजार सतुवाको बिरुवा लगाएका छन् । जडीबुटी खेतीका लागि गाउँपालिकाले चालू आवमा रु १० लाख बजेट विनियोजन गरेको छ ।

“हालसम्म रु पाँच लाख ७५ हजार खर्च भइसकेको छ,” उनले भने । समुद्री सहतदेखि एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरको उचाइको चिस्यान र मलिलो माटो भएको भूगोलमा सतुवा खेती गर्न सकिन्छ । सतुवा प्रतिकिलो रु १० हजारमा बिक्री भइरहेको छ । लगाएको एक वर्षमै सतुवाबाट आम्दानी लिन सकिन्छ ।

व्यावसायिक जडीबुटी खेतीप्रति कृषकलाई आकर्षित गरी उनीहरुको आयआर्जनमा सुधार र बाँझिएका खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउने उद्देश्यले सतुवा, टिम्मुरलगायत जडीबुटी खेतीको विस्तार गर्ने योजना रहेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button