नेपालमै छ रबर खेती र टायर उद्योगहरुको प्रबल संभावना

उज्वल खनाल, पोखरा न्युज ।

विश्व वजारमा रबरको व्यवसायिक खेतीले ध्यान तानिरहेका वेला नेपालमा पनि रबरको खेती गर्ने किसानहरुको इच्छा, चाहना र लगानीमा ध्यान जान थालेको छ। रबरखेतिका बैज्ञानिक तिलक भण्डारीका अनुसार आफूले एनआरएन भएर अमेरिकामा वस्दा जानेको रबरसम्वन्धी अनुभवलाई नेपाल र नेपाली जनतालाई सिकाएर नयाँ कृषि व्यवसायलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिन्छन्। नेपाल र नेपाली किसानका लागि केही थोरै सिप तथा ज्ञान बृद्धि, अनुभव र गहिरो एवम् दीगो सम्वन्ध स्थापना गराउनु आफ्नो दायित्व भएको उनी वताउँछन्।

पेशाले १९ वर्षदेखि युएसएमा रहेर पायोनियर रबर फेमिङको र नेपालको एक मात्र टायर उत्पादन गर्ने गोरखकाली रबर उद्योगको बचाउ अभियान तथा साना, मझैला र ठूला गरी चारसय भन्दा बढी रबर उद्योगहरुलाई चाहिने अति आवश्यकीय कच्चा पदार्थ रबरको खेती गरि स्वदेशमा नै उत्पादन गरेर आत्मनिर्भर वन्न सकिने भण्डारीको भनाई छ। रबर खेतीसंगै २० औं हजारलाई रोजगार सृजना गर्न सकिन्छ भन्ने अभियानमा विगत २८ वर्षदेखि १ करोड रबरका रुख रोपी नेपाललाई रबरमा आत्मर्निभर वनाउन सकिन्छ भन्ने लक्षका साथ अघि बढेका अभियानकर्ता हुन् भण्डारी।

उनका अनुसार संपूर्ण नेपालीहरुले उपयोग गर्ने सवारी साधनहरु हालको तथ्याङ्कले देखाएअनुसार २३ लाखबाट बर्षेनी बढ्ने क्रममा छन्। ७४ लाख विद्यार्थीहरुले प्रयोग गर्ने इरेजर मेटाउने रबरदेखि जुत्ताचप्पल लगायत विभिन्न किसिमका ४० हजार रबरजन्य उत्पादन प्राकृतिक रबरबाट नै बन्दछ। त्यसैले रबरलाई विश्वले ‘सेतो सुन’ अर्थात ह्वाइट गोल्ड भनेर नामाकरणसमेत गरेको छ। २०४७ सालको पाइलट प्रोजेकट, नमूना परियोजनादेखि नै हाम्रो आफ्नै देशमा पूर्वाञ्चलका चार जिल्ला झापा, मोरङ, सुनसरी र इलामको तल्लो भाग खेतीयोग्य जमिनबाहेकको जग्गा रबर खेतीको लागी उर्वरभूमी प्रमाणित भएको छ । हालको अध्ययन अनुसार एकहजार पाँचसय विघामा रबर खेती भइरहेको छ। त्यस्तै, २२ सय बिघा जमीन रवर खेतीका लागि उत्तम ठहरिएको छ।

वर्तमान अवस्थामा बार्षिक ७ सय ५० मेट्रिक टन प्रशोधित कच्चापदार्थ उत्पादन भई नेपाली रबर कृषकहरुले १५ करोड बराबरको मूल्य पाइरहेका छन्। नेपालको खाली रहेको बन क्षेत्र बनमारा झार र अन्य झाडीले ढाक्नुका साथै काम नलाग्ने रुखहरु लगाउनुको सट्टा यस बहुआयमूलक औद्योगिक बाली लगाउनुपर्छ भन्ने कुरामा किन बन मन्त्रालयको ध्यान पुगिरहेको छैन? जबकी, त्यही बन मन्त्रालयले २०५० सालमा रबर बिकास बोर्ड स्थापना गरेको थियो र कागजी रुपमा कृषि मन्त्रालय अन्तरगत हालसम्म पनि छ। कृषि बिकास मन्त्रालयले समेत बिगतका निर्णयहरुलाई मध्यनजर गरी यस खेतीको व्यवसायिक रुपमा ढिलो नगरी ध्यान दिई काम अगाडि बढाउन जरुरी भइसकेको छ। अब पनि रबर खेतीको व्यावसायमा ध्यान दिइएन भने निकै ढिला हुनेछ। नयाँ सरकारसंगै रबर खेतीलाई किसानहरु समक्ष प्रोत्साहनका साथ लाग्नुपर्नेमा रबर वैज्ञानिक भन्डारीले जोड दिदैँ आएका छन्।

भण्डारी भन्छन्, ‘रबर खेतीले खाद्य सुरक्षामा कुनै असर नगर्ने भएकोले चाइनिज प्रविधि अनुसार एग्रो–फोरेष्ट्री मोडलबाट सजिलै गर्न सकिन्छ। त्यसको जानाकार हामी छौं। उदाहरण खोज्न कतै जानु पर्दैन। हाम्रै छिमेकी राष्ट्र भारत र चिन जस्ता ठूला र धेरै जनसंख्या भएको देशले लाखौ लाख हेक्टर खेती गरेर रबर खेतीलाई राष्ट्रिय मान्यता दिइ खेती भएको सय वर्षभन्दा बढी भयो। तर, रबर खेतीले त्यहाँको खाद्य सुरक्षामा कुनै हानी पु¥याएको भन्ने कुरा आएको छैन। यद्यपी, हामै देशमा विभिन्न क्षेत्रबाट धेरै पहलहरु गर्दा पनि किन राष्ट्रिय नीति नबनेको हो ? देशकै राष्ट्रिय उद्योग गोरखकाली रबर उद्योग १५ महिनादेखि ढोका बन्द गरेर ८ देशका विदेशी टायरहरुलाई कति दिन आयत गर्ने ? नेपालका अल्पकालीन सरकारहरु र नीति निर्माणकर्ताहरु नाकाबन्दी हुँदा मात्र स्वदेशको उत्पादनका गफ गर्दछौ। नाका खुलेको भोलिपल्ट सबै बिर्सने गर्दछौ।’

वर्तमान अवस्थामा ४६ वटा साना र ठूला सिमेन्ट उद्योगहरु चलिरहेको र बहुराष्ट्रिय दुई सिमेन्ट उद्योगमा ठूलो लगानी भित्रिनु सा¥है नै राम्रो प्रयास हुदैछ। तर, चिनिया सरकारको सहयोगमा २०४२ सालमा स्थापित हाल बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योग चलाउन नेपाल सरकारले सकृय पहल नगरेको अवस्थामा एनआरएनएहरुले समेत स्वदेशी लगानी कर्ताहरुसंग मिलेर काम गर्ने उद्गम थलो हुन सक्छ नेपाल। स्वदेशमा नै सतप्रतिशत बजार ग्यारेन्टी भएकोले २० वर्षदेखि ‘आयो गोरखाली टायर’ ब्राण्डले वनाइसकेको नेपाली ग्राहकहरुलाई गुणस्तर तथा समयमा उपलब्ध गर्न सकेमा एक नम्बरमा आउने विभिन्न खोज अनुसन्धान र अनुभव साथै प्रगोगबाट प्रमाणित भएको छ।

गैरआबसीय नेपालीहरुले विश्वका ७३ देशमा कानूनी रुपमा सञ्जाल स्थापना गर्न सक्षम रही आफ्नो कर्मभूमीबाट ज्ञान, सिप, क्षमता, आर्थिक वृद्धि गर्न सक्ने प्रचुर संभावना छ। आफ्नो जन्मभूमिमा रेमिटेन्स मात्र नपठाई ठूलो सिप र ज्ञान साथै साना ठूला विभिन्न लगानीहरु गरिरहेका छन्। त्यतिमात्र नभई एनआरएनएमार्फत २०१५ को महाभूकम्प पश्चात स्वदेशको हितमा गरेको सहयोग उदारणीय बनेर नेपाल सरकार लगायत जनता र अन्तराष्ट्रिय संघसंस्थाहरुबाट समेत प्रशंसा प्राप्त गरेको छ। आगामी दिनमा पनि शिर उँचो पार्न निरन्तर प्रयासहरु गर्नुपर्ने जरुरी देखिन्छ।

वैज्ञानिक भण्डारी पनि ईन्स्टिच्युट अफ रबर एण्ड जाट्रोपा रिसर्च–नेपाल, युएसएमा सन् २०१० मा स्थापना गर्नेमध्येको एक संथापक हुन्। उनका अनुसार उक्त संस्थालाई लगानी खोज्ने सम्बन्धमा साना ठूला लगानीकर्ताहरु खोजीको शिलशिलामा वर्तमान अवस्थामा ठूलो लगानीकर्ताको सम्पर्कमा पुगेका सन्दर्भमा उक्त बृहत् लगानीकर्तालाई नेपाल सरकार र एनआरएनए÷आइआरजेआर–नेपालले संयुक्त प्रयासमा देशले भित्राउन आज नै जरुरी छ। साथै, बि.सं. २०७३ मंसीरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका कूलपति एवम् तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यूबाट ‘फर्क हे फर्क बैज्ञानिक, डाक्छ तिमिलाई नेपाल’ भन्ने नास्टबाट स्वीकृत कार्यक्रम अन्र्तगत उनी पनि स्वदेश फर्किइसकेको अवस्था भएकोले तिब्र ईच्छाशक्ति साथ काम गर्ने अभिलाषासहित ईन्स्टिच्युट अफ रबर एण्ड जाट्रोपा रिसर्च–नेपाल युएसएको टेक्निकल कोल्याबोरेसनमा नेपाल सरकारसंग रबर खेतीको थप अनुसन्धान बिकास र विस्तारमा काम गर्न प्रतिवद्ध रहेको वताउँछन्।

नेपालको बदलिदो सरकारको अवस्थामा रबर खेती गरिरहेका कृषकहरु, वन उपभोक्ता समितिहरु, सहकारी, चिया बिकास निगम र रबर उद्योगहरुले थप लगानी गर्ने इच्छा हुँदाहुँदै पनि राष्ट्रको लागि यस औद्योगीक रबर बालीलाई अविलम्व मिलेर ५० वर्षको लागि तत्काल बिकासको ढोका खोलौं। नेपाल रबर बिकास बोर्ड वा राष्ट्रिय औद्योगिक बाली बिकास बोर्ड स्थापना गरेर ‘नौ भाग काम गरौं, एक भाग कुरा गरौं र दीगो बिकासमा बिश्वास राखौ’ं भन्ने मूल नारा उहाँको छ।

ईन्स्टिच्युट अफ रबर एण्ड जाट्रोपा रिसर्च–नेपाल, युएसएका संस्थापक, कार्यकारी निर्देशक तथा रबर खेती बैज्ञानिक, नेपालमा कार्यरत तिलक भन्डारीसंगको कुराकानीमा आधारित।

सम्बन्धित न्यूज

Back to top button