पोखरामा तामझामका साथ फेवा नयाँ वर्ष महोत्सव सुरु

पोखरा न्युज -२८ चैत ।

पोखरामा फेवा नयाँ वर्ष महोत्सव तामझामका साथ सुरु भएको छ ।

१५ औं संस्करणको फेवा नव वर्ष महोत्सव पोखराको फेवा ताल किनार स्थित कोमागाने पार्कमा  बुधबारबाट सुरु भएको हो  । महोत्सबको भब्य समारोहका साथ्  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरेका हुन् ।

महोत्सव उद्घाटन अघि लेकसाइड स्थित हल्लनचोकबाट निकालिएको झाँकी सहितको सांस्कृतिक ¥याली तीन किलोमिटर दक्षिणको कोमागाने पार्कमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो । महोत्सवको उद्घाटन गर्दै मन्त्री अधिकारीले सरकारले केही महिना भित्रमा एक सय वटा पर्यटकीय गन्तव्य पहिचान गरी तिनको प्रचार गर्ने तयारी गरेको जानकारी दिए । पोखरा र वरपरको क्षेत्रमा दर्जनौं होमस्टे विकास गर्ने र स्थानीय उत्पादन खुवाउने होमस्टेलाई मात्र सरकारले प्रोत्साहन र सहयोग गर्ने उनले बताए ।

पर्यटकीय लेकसाइडलाई राति दुई बजे सम्म र काठमाडौंको ठमेललाई तीन बजेसम्म खोल्ने पहल गर्ने पनि उनले सो अवसरमा सुनाए । फेवा तालको संरक्षणका लागि छिटै कार्ययोजना सार्वजनिक गरिने भन्दै उनले पोखरामा बन्दै गरेको नयाँ विमानस्थलको कामलाई तीव्रता प्रदान गरिने प्रतिबद्धता जनाए । कूल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान साडे सात बाट २५ प्रतिशत पुर्याइने पनि उनले बताए । पोखरा विमानस्थल बाहेक नेपालका पाँच वटा विमानस्थल छनोट गरी राति पनि सेवा दिने अवस्था सिर्जना गर्ने तयारी भएको र एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको काम अघि बढि सकेको पनि मन्त्री अधिकारीले जानकारी दिए ।

प्रदेश ४ का पर्यटन मन्त्री विकास लम्सालले प्रदेश ४ र खास गरी पोखरा आउने पर्यटकको तथ्यांक राख्ने काम थालिने र प्रवद्र्धनको कामलाई अगाडि बढाइने सुनाए । पोखरामा अन्तर्राष्ट्रि स्तरको सेमिनार हल बनाइने आश्वासन पनि उनले दिए । कोरलादेखि सुस्तासम्म स्तरीय सडक निर्माण गर्ने योजना पनि मन्त्री लम्सालले सुनाए ।

कार्यक्रममा प्रदेश ४ का सभासद कृष्ण थापा, अर्का सभासद राजिव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, वडा महिला समन्वय समिति बैदामकी अध्यक्ष विष्णु केसी र आयोजक संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले भनाई राखेका थिए ।

फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवले पर्यटन, संस्कृति र खानाको पक्षलाई बढी जोड दिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए । नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्धेश्य महोत्सवले लिएको छ । महोत्सवमा ४० स्टल छन् ।

नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुती, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता जस्ता आकर्षण महोत्सवले समेट्दै छ । यति ब्रुअरीको अर्ना वियर महोत्सवको मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button