पोखरामा वैशाखको अन्तिम साता मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने

 

पोखरा न्युज – ३० चैत्र ।

पोखरामा वैशाख अन्तिम साता अन्तर वडास्तरिय मेयर कप पुरुष भलिवल प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला भलिवल संघ र पोखरा लेखनाथ महानगरपालिकाको संयुक्त आयोजनामा वैशाख २६ देखि २९ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको संघका अध्यक्ष भिम पराजुलीले बताए ।

पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघको समन्वय र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समितिको बिषेश सहयोगमा संचालन हुने उक्त प्रतियोगितामा करिब ३० टिमको सहभागिता हुने अध्यक्ष पराजुलीले जनाए । भलिवल खेलको विकास गरी खेलाडी उत्पादन गर्ने उद्धेश्यले आफुहरुको पहिलो प्रयास रहेको उनले जनाए । उनले भने “ यो प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरु हामीले महानगरपालिकाको एउटा भलिबल टिमकै रुपमा खेलाडीहरु समेत छनौट गर्ने छौं, वडामा राष्ट्रिय तथा अन्तराष्ट्रिय जति खेलाडीहरु भए पनि सहभागि हुन पाउनेछन। ”

प्रतियोगितामा विजेताले एक लाख रुपैया साथमा शिल्ड, मेडल प्रमाण–पत्र प्राप्त गर्ने भएको संघका सचिव कुमार गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा उपविजेतालाई ५० हजार, तेश्रो हुनेलाई २५ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, त्यसै गरी प्रतियोगितामा उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट सर्भरलाई जनहि ३-३ हजार पुरस्कार प्रदान गरिने भएको संघले जनाएको छ। चार दिनसम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख ३० हजार रुपैया खर्च हुने र सो प्रतियोगिताबाट ९ लाख १५ हजार आम्दानी गर्ने लक्ष्य राखिएको सचिव गुरुङले जनाए ।

पोखरा लेखनाथ महानगरपालिकामा रहेका ३३ वटै वडाहरुको सम्बन्ध सुमधुर पार्न, जनप्रतिनिधिहरुलाई खेलकुदको महत्व बुझाउन पनि प्रतियोगिताले थप सहयोग पुग्ने संघका अध्यक्ष पराजुलीले जनाए । यस महानगरपालिकालाई थप समृद्ध बनाउने अभियानमा “स्वस्थ नागरिकका लागि खेलकुद, खेलकुदको विकासको लागि समग्र महानगरपालिकाको दायित्व ” भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता हुने भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button