सौराहामा नयाँ वर्षमा दोब्बर पर्यटक

पोखरा न्युज – ०३ बैशाख ।

नयाँ वर्ष लागेसँगै चितवनको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ ।

यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,” क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भने ।

उनका अनुसार २०७५ सालमा २० प्रतिशत पर्यटक बढ्ने आशा पलाएको छ । गत वर्ष करीब १० हजार पर्यटक भित्रिएका र होटलमै बास बस्ने पर्यटक अनुमानित ६ हजार रहेको घिमिरेले बताए । “विगतमा व्यवसायी चुके, अब प्रवद्र्धनमा तात्नुपर्छ,” उनले भने ।

विक्रम संवत्को नयाँ वर्षमा सौराहाका होटलमा पर्यटक खचाखच भरिएका छन् । यसपाली सौराहालाई पर्यटक धान्नै मुस्किल भयो । राति कोठा नपाएर फर्कने पर्यटक थुप्रै थिए । एउटै कोठामा म्याट थपेर पनि पर्यटक सुताउनुपरेको अनुभव सुनाउछन् होटल पार्क साइडका सञ्चालक शीरलाल परियार । नयाँ वर्ष शुरु हुनु तीन दिन अघिदेखि नै सौराहामा पर्यटक भरिएका थिए ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहा हो । विगतमा यहाँ करीब एक लाख ५० हजार पर्यटक आउँथे । यस वर्ष एक लाख ८० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको र यसका लागि व्यवसायी पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने घिमिरेको भनाइ छ ।

शान्ति, सु–व्यवस्था, स्थिरता र मुग्लिन सडकमा विगतभन्दा सास्ती कम भएकाले पनि विभिन्न जिल्लाबाट सौराहा घुम्न पर्यटक आउन थालेका छन् । यसपटक नेपाली नयाँ वर्षमा विदेशी पर्यटक ३० प्रतिशत थिए । अरु सबै आन्तरिक पर्यटक भरिएका थिए ।

रेष्टुराँ एण्ड बार एशोसिएसन नेपाल(रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरी यसपटक विगतभन्दा बढी पर्यटक सौराहा भित्रिएकाले नयाँ वर्ष पर्यटन व्यवसायीका लागि सुखद हुने बताउछन्। सौराहामा सुविधायुक्त होटल ११० वटा छन् । अन्य साना होटल पनि सञ्चालनमा छन् । ठूला होटलको क्षमता दैनिक करिब तीन हजार पर्यटक अट्ने छ । “दैनिक पाँच हजारसम्म पर्यटक राख्न सकिन्छ,” गिरीले भने ।

सौराहामा आउने पर्यटक हात्ती सफारी, जिप सफारी र डुङ्गा सफारी गर्छन् । थारु संस्कृतिमा पर्यटक रमाउँछन् । उनीहरु चितवन निकुञ्जमा गैंँडा, चित्तल, हात्ती, जरायो, बाघ, गौरीगाई, भालुलगायत वन्यजन्तु अवलोकन गरेर रमाउँछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button