२ करोड लागतमा सौराहामा विद्यालय निर्माण

पोखरा न्युज -०७ बैशाख ।

चितवनको रत्ननगरस्थित सौराहामा जर्मन नागरिकको आर्थिक सहयोगमा विद्यालय निर्माण भएको छ ।

विदेशी दाताहरुको रु १ करोड ९३ लाखको लागतमा माउण्ट भ्यू इंग्लिस स्कुलको भवन निर्माण भएको हरियाली समाज (ग्रीन सोसाइटी) नेपालका उपाध्यक्ष शेरबहादुर परियारले जानकारी दिए । उक्त स्कुल हरियाली समाजद्वारा सञ्चालित छ ।

यो विद्यालयलाई नाफाका दृष्टिले नहेरी आएको आम्दानीले नजिक रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासमा लगानी गर्ने योजना रहेको विद्यालयले जनाएको छ । समाजले यहाँ आँखा उपचार केन्द्र, प्रशिक्षण भवन, पुस्तकालय लगायत विभिन्न सामाजिक क्षेत्रमा समेत लगानी गरेको छ ।

बिहिबार उक्त विद्यालय भवनको उद्घाटन तथा नयाँ व्यवस्थापन कार्यक्रमको शुभारम्भ गर्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले शैक्षिक विकासका लागि विद्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सहयोगी दाताहरुका तर्फबाट मन्तव्य राख्दै नेवार थारु इ. भी. का अध्यक्ष जर्मन नागरिक कारा गेरनोटले ‘मैले पढ्नुपर्छ, मेहनत गर्नुपर्छ, बाबु आमाले मेहनत गरेर हुन्न’ भन्ने भावनाका साथ पठनपाठनमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे ।

कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा हाल २४० विद्यार्थी अध्ययनरत छन् । आगामी वर्ष कक्षा ९ सञ्चालन गर्ने योजना रहेको र पाँच वर्षभित्र नमूना विद्यालय बनाउने योजना रहेको प्रधानाध्यापक गोपी खनालले बताए ।

हाल विद्यालयमा कम्प्युटर प्रयोगात्मक शिक्षा, संगीत र नृत्य कक्षा, अडियो भिडियो कक्षा सञ्चालन हुँदै आएको छ । निकट भविष्यमै प्रोजेक्टरबाट कक्षा सञ्चालन गर्न ‘एक शिक्षक एक ल्यापटप’ अवधारणा अघि बढाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button