म्याग्दीको केभहिल विकासको पर्खाइमा

पोखरा न्युज – ०७ बैशाख ।

म्याग्दीको बेनी नगरपालिका– ९ गाजनेको धुरीमा अवस्थित केभहिल पर्यटकीय सम्भावनाले युक्त हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

केभहिल प्राकृतिक सुन्दरता र हिमशृङ्लाको दृश्यावलोकनका लागि प्रसिद्ध छ । यहाँबाट धौलागिरि हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । यहाँ रहेको जगन्नाथ मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिकोणले प्रसिद्ध छ । सो मन्दिर केभहिलको नजिकै रहेको छ ।

मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बागलुङ, स्याङ्जा र कास्कीका विभिन्न ग्रामीण क्षेत्रको तथा म्याग्दीलाई नियाल्न सकिने स्थानीयवासी शिव बानियाँ बताउछन्।

बेनीबजारदेखि नजिकै पुलस्त्य पुलहाश्रम, ढोल्ठान दरबार, जगन्नाथ मन्दिर रहेको गाजनेको धुरी, टोड्केको धुरीलगायत क्षेत्रको प्रचारप्रसार गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । सदरमुकाम बेनी बजारदेखि करीब डेढ-दुई घण्टाको पैदल यात्रापछि केभहिल पुग्न सकिन्छ । जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बानियाँ केभहिल क्षेत्र प्रदेश नं ४ कै उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने बताउछन् ।

“केभहिलबाट माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरि र धौलागिरि हिमाल मज्जाले देख्न पाइन्छ”, पौलस्त्य पुलह क्षेत्र विकास समितिका अध्यक्ष लीलाबहादुर बानियाँले भने । केभहिल नजिकै रहेको गाजने गाउँलाई मादक पदार्थ र मांसहार निषेधित क्षेत्र बनाइएको छ । केभहिलबाट आधा घण्टाको दूरीमा रहेको जगन्नाथ मन्दिर भारतको उडिसा राज्यमा रहेको जगन्नाथ मन्दिरकै ढाँचामा निर्माण गरिएको छ । महायज्ञ गरेर संकलित रु एक करोड आठ लाखको लागतमा उक्त मन्दिर पुनःनिर्माण गरिएको हो ।

विशाल, बलशाली र समृद्ध चौबिसे राज्यको लामो समयसम्म गाजने र ढोलठाना राजधानी रहेको इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘ऐतिहासिक पर्वत राज्य’ नामक ग्रन्थमा उल्लेख छ । विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीलाई बनाएको उक्त ग्रन्थमा उल्लेख छ ।

बेनी नगरपालिकाभित्र रहेका टोड्के, जगन्नाथ, पौलस्त्य पुलहाश्रम, जालपा, महारानी, गलेश्वर, ज्यामरुककोट, भकिम्लीको स्वर्गाश्रमजस्ता ऐतिहासिक र धार्मिक महत्वका क्षेत्रको संरक्षण र उपयोगको चाँजोपाँजो मिलाउने अभियानमा बेनी नगरपालिका लागेको नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button