Pokhara News

राति ११ बजेसम्म पर्यटक हिँड्न सक्ने वातावरण बनाइनुपर्ने पर्यटन मन्त्री अधिकारीको जोड

पोखरा न्युज – ०८ बैशाख ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले राजधानीमा पर्यटकले रातिसम्म हिँडडुल गर्न सक्ने वातावरण बनाइनुपर्नेमा जोड दिएका छन् ।

विश्व सम्पदा दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भूसम्मको पदयात्रा कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दैै उनले राजधानीको आवश्यकता धान्नलाई पनि रातिसम्म घुमफिर गर्न सक्ने गरी व्यवस्थापन गरिनुपर्ने बताए ।

“राति ११ बजेसम्म पर्यटक घुम्न सक्ने वातावरण बनाए अझ बढी पर्यटक आकर्षित गर्न सकिन्छ, यस्तो वातावरण बने उपत्यकाका १५ देखि २० स्थानमा राति पर्यटक भित्र्याउन सकिन्छ”, उनले भने ।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्ने तयारी गरिएको उल्लेख गर्दै मन्त्री अधिकारीले १५ लाख बाह्य पर्यटक भित्र्याइने बताए । प्रतिपक्षलाई समेत साथमा लिएर विकास र समृद्धिको सपना पूरा गर्ने उनको प्रतिबद्धता थियो ।

सांसदद्वय जीवनराम श्रेष्ठ र रामवीर मानन्धर, महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले उपत्यकाका सम्पदालाई पदमार्गका माध्यमबाट जोडिनुपर्नेमा जोड दिए ।

कार्यक्रमअघि स्थानीयवासी र विभिन्न विद्यालयका विद्यार्थीले हनुमानढोकाबाट स्वयम्भूसम्म पदयात्रा गरेका थिए । महानगरपालिकाले वैशाख २ गतेदेखि आजसम्म सम्पदा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनायो । प्रत्येक वर्ष अप्रिल १८ का दिन यो दिवस मनाइन्छ ।

(प्रतिकात्मक तस्बिर)

Related posts

पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

रासस

बिसहजारी तालमा ‘वाटर मुभर’ मेशिनको प्रयोग

रासस

पोखरा लेखनाथमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम

रासस