प्याराग्लाइडिङ्ग खेलबाट पदकको सम्भावना – खेलकुद मन्त्री विश्वकर्मा

 पोखरा न्युज – ०९ बैशाख ।

युबा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १८ औ एशियाली खेलमा प्याराग्लाइडिङ्ग खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भाबना रहेको बताएका छन । इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना हुने एशियाली खेलमा छानिएका प्याराग्लाइडिङ्गका खेलाडीहरुलाई पोखरामा बधाई तथा शुभकामना दिंदै मन्त्री विश्वकर्माले उक्त कुरा बताएका हुन ।

एशियाली खेलमा पहिलो पटक समाबेश भएको प्याराग्लाइडिङ्ग खेलले राष्ट्रको प्रतिष्ठा माथी उठाउनेमा आफु ढुक्क रहेको बताउँदै यो ऐतिहासिक अबसरलाई राष्ट्रको गरिमा बढाउने गरि खेलाडीलाई पर्दशन गर्न आग्रह गर्दै भने–‘नेपालले प्याराग्लाइडिङ्ग खेलबाट पदक प्राप्त गर्नेमा शतप्रतिसत ढुक्क छौं ।’

नेपालको खेलकुद क्षेत्र समस्या ग्रस्त रहेको बताउँदै मन्त्री विश्वकर्माले खेलमा अनुशासन र विधीको खाँचो भए पनि यस्तो मर्यादित क्षेत्रमा अराजकता, स्वेच्छारी र विवाद बढनु दुःख लाग्दो विषय भएको बताए । मन्त्री विश्वकर्माले १८ औ एशियाली खेलमा जाने अफिसियलहरुलाई कडाईका साथ नियन्त्रण गर्ने बताउँदै भने–‘कुनै पनि अन्तर्राष्ट्रिय खेलमा पदक प्राप्त गरि देशको शान बढाउन जानु पर्नेमा देशको इज्जत प्रतिष्ठालाई समेत बन्धक बनाउँदै खेलकुदलाई घुम्न र मनोरंजन गर्ने विगतको परिपाटीलाई पूर्ण रुपमा निरुत्साहित गर्छौ ।’

१३ औं दक्षिण एशियाली खेलकुद (साग)को पूर्व तयारी स्वरुप १८ औ एशियाली खेलकुदमा २८ खेलमा नेपालको सहभागिता रहने जनाउँदै मन्त्री विश्वकर्माले राष्ट्रले पदक प्राप्त गर्ने सम्भावना रहेका खेलमा लगानी गर्न पछाडी नपर्ने बताए । उनले यसमा थप जोड दिंदै भने –‘मितव्ययी हुने कुरामा मितव्ययी हुन्छौं तर पदकका प्राप्त गर्ने खेलमा खुलेर लगानी गर्छौ र सोही अनुसार खेलाडी छनौट पनि गर्छौ ।’

मन्त्री विश्वकर्माले सो अबसरमा खेलाडीलाई १८ औं एशियन गेम्स लोगो अंकित टिसर्ट उपहार स्वरुप प्रदान गरेका थिए । कार्यक्रममा मन्त्री विश्वकर्मालाई नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्गग्लाइडिङ्ग संघका महासचिब शैलेन्द्र रावत, नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष कृष्ण भण्डारी, नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्गग्लाइडिङ्ग संघका सचिब इन्द्र भण्डारी र कोषाध्यक्ष मधुकर सुवेदीले दोसल्ला ओढाएर सम्मान तथा स्वागत गरेका थिए ।

१८ औ एशियाली खेलकुदमा प्याराग्लाइडिङ्ग खेलमा नेपालका तर्फबाट दुइ उपविद्यामा १० जना खेलाडीले तिन मेडलका लागि प्रतिष्पर्धा गर्ने छन । पहिलो पटक १८ औ एशियाली खेलकुदमा समाबेश गरिएको प्याराग्लाइडिङ्ग खेलमा करिब ३० भन्दा बढी राष्ट्रको सहभागिता रहने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button