टेम्पो चलाएर मासिक ५० हजार कमाइ

पोखरा न्युज – १० बैशाख  ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्केका झापाको अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदूरी गरेर जवानी बिताएका उनी अब स्वदेशमै रहेर सफल व्यवसायी बनेका छन् ।

बीस महिनाअघि स्वदेश फर्केका उनी अहिले टेम्पो चलाउन व्यस्त छन् । झापाका ग्रामीण क्षेत्रदेखि सहरका गल्ली गल्लीमा उनी टेम्पो गुडाउछन् । टेम्पो चलाएरै उनले विदेशको भन्दा राम्रो कमाइ गरिरहेका छन् । पहिले नै यो काम थालेका भए त्यतिका वर्ष विदेशमा पसिना बगाउनु पर्ने थिएन कि भन्ने पछुतो पनि उनलाई लाग्ने गर्दछ ।

पुनः विदेश फर्किने सोचका साथ छुट्टीमा घर आएका घिमिरेले एकाएक गाउँघरमै बसेर कुनै व्यवसाय गर्ने उत्साह बढेर गयो । पहिले त के व्यवसाय गर्ने भन्ने निर्णय गर्न गाह्रो भयो तर पछि टेम्पो किनेर चलाउने निधो गरे । सुरुमा एउटा टेम्पो किने । बजाज कम्पनीको टेम्पो किनेर चलाउन सुरु गरेका उनले सोही टेम्पोको कमाइले चार महिनाअघि पुनः अर्काे टेम्पो किन्न सफल भए । दैनिक दुई हजार माथि कमाई हुन थालेपछि उनको विदेशप्रतिको मोह टरेर गयो ।

घरमै बसिबसी मासिक रु ५० हजार माथि कमाई गर्न थालेपछि १७ वर्ष विदेशमा श्रम र पसिना बगाएका नेपाल नेपाल फर्कनुभएका उनलाई अहिले नेपाल स्वर्ग झैँ लाग्न थालेको छ । बिहान आठ नबज्दै टेम्पो लिएर निस्किनुभएका उहाँ बेलुका घर फर्कदा कम्तीमा पनि दुई हजार रुपैयाँ कमाई गरेर मात्रै फर्कन्छन् । खर्च कटाएर मासिक रु ५० हजारमाथि कमाई गर्न थालेपछि घिमिरे यतिबेला दङ्ग मात्र छैनन्, भविष्यमा यसलाई अझ बढाउँदै लैजाने योजना बुन्न थालेका  छन् ।

घिमिरेकी श्रीमती रञ्जनाका दुवै मृगौला खराब छन् । १५ महिनादेखि उनकी श्रीमती बिरामी परेपछि श्रीमतीको औषधि उपचारका लागि उनले १० लाख रुपैयाँ खर्च गरिसकेका छन् । त्यति ठूलो खर्च गर्नसक्ने औकात उनलाई टेम्पोकै कमाइबाट सम्भव भएको हो । ‘‘यति व्यवसाय नगरेको भए त आज साहूसँग चर्को ब्याजमा ऋण लिनुपर्ने वाध्यता हुने थियो’’ उनी भन्छन् ।

घिमिरेले श्रीमतीको उपचार अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिरहेका छन् । उनले १० वर्षीया छोरीलाई निजी विद्यालयमा भर्ना गराएका छन् । छोरीको अध्ययनका लागि आवश्यक पर्ने खर्च समेत टेम्पोबाटै जुटाएका छन् । मृगौला खराबीका कारण विरामी श्रीमतीको रेखदेसँगै घरमै बसेर टेम्पो चलाएको भरमा मनग्य आम्दानी गर्न थालेपछि उनलाई घर खर्च टार्न कुनै समस्या छैन ।

स्वदेशमा रोजगारी पाइएन भनेर विदेसिने युवाको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा अर्जुनधाराका पौडेल प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्ता धेरैले अहिले यही टेम्पो कुदाएरै जीवन निर्वाह गरिरहेका छन् भने भाडामा टेम्पो चलाउँदै आएका कतिपयले आफैँ टेम्पो किनेर मनग्य आम्दानी गरिरहेका छन् ।

झापाका सडकमा अहिले झण्डै तीन हजारभन्दा बढी टेम्पो गुड्ने गरेका छन् । पछिल्लो समय हलुका सवारीका रुपमा लोकप्रिय बनेको तीन पाङ्ग्रे टेम्पो धेरैको यातायातको साधन बनेको छ ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button