म्याग्दीको राम्चेमा सामूहिक चौँरीपालन

पोखरा न्युज – वैशाख १३ ।

म्याग्दी जिल्ला अन्तर्गत अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवा र प्रौढहरुले सामूहिक चौँरीपालन गरेका छन् ।

गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले त्यहाँका युवा र प्रौढ प्रगतिशील बाबा समूहमा आबद्ध भएर सामूहिक चौँरीपालन गरेका समूहका अध्यक्ष गमबहादुर पुर्जाले जानकारी दिए ।

समूहको कोषमा रहेको रु चार लाख २० हजार लगानीमा कास्कीको घान्द्रुकबाट विसं २०७० मा १२ वटा चौँरी ल्याएर पाल्न थालिएको थियो । हाल चौँरीको संख्या बढेर ३२ वटा पुगेको छ । आठ वटा याक छन् । बाह्र वटा चौँरी ब्याउने छन् ।

चौँरीको संख्या वृद्धि गरी ८० वटासम्म पु¥याएपछि चिज उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष पुर्जाले जानकारी दिए । राम्चेका वडासदस्य यामबहादुर पुनले सञ्चालन गरेको चिज उद्योगमा हाल जर्सी गाईको दूधबाट चिज उत्पादन हुने गरेको छ ।

पर्यटकीयस्थल र अन्तर्राष्ट्रिय बजारमा चौँरी गाईको दूधबाट बनेको चिजको राम्रो खपत हुने गरेको छ । चिजका साथै याकको मासुसमेत बजारमा माग अत्यधिक छ । हाल एकजना कर्मचारी राखेर चौँरीको रेखदेख गरिँदै आएको छ ।

राम्चेको कालीदह, तिनपोखरे, मोहरेडाँडा, ढुङ्गाडाँडाको जंगल क्षेत्रमा चौँरीलाई चरिचरन गराइँदै आएको छ । चौँरीको गोठ सुधार, खोपलगायत प्राविधिक सेवाका लागि गाउँपालिका, वडा कार्यालय र पशु सेवा शाखाले सहयोग गरेका छन् ।

गत वर्ष तत्कालीन पशु सेवा कार्यालयले चौँरीको गोठ सुधारका लागि रु एक लाख ५० हजार अनुदान उपलब्ध गराएको थियो । यस वर्ष वडाको प्रस्तावमा गाउँपालिकाले रु दुई लाख विनियोजन गरेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।

(प्रतीकात्मक तस्वीर)

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close