छामबोटमा फस्टाउँदै सामूहिक पशुपालन

पोखरा न्युज – १८,  वैशाख ।

स्याङ्जा छामबोटका युवा सामूहिक पशुपालनतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिका–११ गल्कोटका छ युवाले सामूहिक रुपमा पशुपालन व्यवसाय गरेका हुन् ।

उनीहरुले सोही नगरपालिकाको वडा नं ७ छामबोटमा भण्डारी कृषि तथा पशुपालन फार्म दर्ता गरी सञ्चालन गरेका छन् ।

“छजनाले रु १५ लाखका दरले रु ९० लाख र गल्याङ नगरपालिकाले थप रु १५ लाख अनुदान दिएको थियो” फार्म सञ्चालक कृष्ण भण्डारीले भने, “कूल रु एक करोड पाँच लाखको लगानीमा फार्म सञ्चालन गरेका छौँ ।”

दुई सय ५० रोपनी क्षेत्रफल जग्गामा पशु तथा कृषि फार्म सञ्चालनमा आएको छ । अहिले फार्ममा होलिस्टन जातका छ वटा दुहुना गाई र छ वटा दुहुना मुर्रा भैँसी छन् । “गाई र भैँसीको गरी अहिले दैनिक झण्डै २०० लिटर दूध उत्पादन भइरहेको छ”, फार्म सञ्चालक हिमलाल भण्डारीले भने, “हामीले दूध उत्पादन गर्न सकेमात्रै हुन्छ, बिक्रीका लागि बजारको कुनै समस्या छैन ।”

फार्ममा उत्पादन भएको दूध दिनहुँ फार्म नजिकै गल्याङ बजारमा रहेको साना किसान दुग्ध संकलन तथा बिक्री केन्द्रमा बिक्री हुने गरेको छ । दूध बिक्रीबाट मात्रै मासिक साढे तीन लाखभन्दा बढी आम्दानी हुने गरेको फार्मले जनाएको छ ।

“बढ्दो आधुनिक प्रविधिको विकाससँगै हामी पनि परम्परागत प्रणालीभन्दा माथि उठेर सामूहिक रुपमा व्यावसायिक पशु तथा कृषि पेशामा लागेका छौँ”, फार्म सञ्चालकमध्येकै फर्शुराम भण्डारीले भने, “यस ठाउँमा पानीको प्रशस्त सुविधा रहेकाले पशुसँगै खाली रहेको जग्गामा व्यावसायिक रुपमै तरकारी खेती सञ्चालन गरेका छौँ ।”

पछिल्लो समय युवा वैदेशिक रोजगारीलाई प्रमुख क्षेत्र मानिरहेका बेला आफ्नै भूमिमा पसिना बगाउन सके विदेशमा कमाइ हुने धन स्वदेशमै कमाइ हुने भएकाले आफूहरु यो पेशाबाट सन्तुष्ट रहेको उनीहरुको भनाइ छ ।

(प्रतीकात्मक तस्वीर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button