एसपी सिंह पोखराको विद्यालयमा साइबर अपराध र लागूऔषधबारे अभिमुखीकरणमा

पोखरा न्युज  , बैशाख २४ ।

जिल्लामा लागूऔषध बिरुद्धको महाअभियान संचालन गरेको कास्की प्रहरीले पोखराको फूलबारीमा रहेको सैनिक आवासीय महाविद्यालयमा  साइबर अपराध र लागु औषध सचेतना सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न गरेको  छ ।

विद्यालयमा  कक्षा ९ र १० मा अध्ययनरत १९० जना विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले  अभिमुखीकरण तथा तालिम प्रदान गरेको हो  । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख  प्रहरी उपरिक्षक एसपी अशोक सिहंले प्रहरी, लागु औषध तथा साइबर क्राइम सम्वन्धि विद्यार्थीहरुले राखेका जिज्ञाशाको बारेमा प्रस्ट पारेका  थिए ।

कार्यक्रममा बोल्दै एसपी सिंहले कानुनी राज्यको पालना गराउने प्रहरीको प्रमुख जिम्मेवारी रहेपनि भोलीका कर्णधार विद्यार्थीहरुलाई लागु पर्दाथ बारे सचेत बनाउदै कुलतमा फस्न नदिन तथा प्रविधिको बढदो प्रयोग सँगै यसको दुरुपयोग हुन नदिन जिल्ला प्रहरी कार्यालयले विद्यालयहरुसँग सहकार्य गर्दै १२० वटा भन्दा बढी विद्यालयमा साइबर अपराध र लागु औषध सम्वन्धि कार्यक्रम सञ्चालन गरेको बताए । कास्कीमा प्रहरी प्रमुखको रुपमा आएपछि लागूऔषध बिरुद्धको महाअभियान संचालन गरेका एसपी सिंहले प्रहरी प्रधान कार्यलयबाट  महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा सरुवाको पत्र पाइसकेको भए पनि कास्कीको अभियानमा  लागी परेका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक प्रहरी निरिक्षक टंक पौडेलले लागु औषधबारे अभिमुखीकरण  प्रदान गरेका थिए भने  प्रहरी जवान कृष्ण रेग्मीले साइबर अपराध अन्तर्गत पर्ने विभिन्न क्रियाकलापबारे विद्यार्थीहरुलाई सचेत गराउँदै यसबाट कसरी जोगीने भन्ने विषयमा सचेतना दिलाएका थिए  ।

महाविद्यालयका सैनिक सम्पर्क अधिकृत सेनानी सुदीप अर्यालले यस्ता तालिम तथा अभिमुखीकरणले विद्यार्थीहरुलाई थप सचेत बनाउने बताउदै कार्यक्रम आयोजना प्रति धन्यवाद ब्यक्त गरेका थिए  । महाविद्यालयका सहप्राचार्य डोलराज श्रेष्ठ तथा शिक्षकहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षक उपेन्द्र प्रसाद पौडेलले गरेका थिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button