हिमालभन्दा मान्छे अग्लो देखिने मालिकाको धुरी

पोखरा न्युज -२७, बैशाख ।

हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ पनि छ भन्दा सहजै कसले पो पत्याउन सक्ला र ?

तर, म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने भिरालो पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीमा पुग्नुहोस् तपाई आफैँ हिमालभन्दा अग्लो देखिनु हुनेछ ।

मालिकाको धुरीबाट हेर्दा आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमशंखला तपाईभन्दा होँचा देखिन्छन् । विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हुने प्रशस्त सम्भावना रहेको यो ठाउँले पूर्वाधार निर्माणको अभावमा आफ्नो पहिचानलाई विदेशीमाझ भने फैलाउन सकेको छैन ।

मालिकाको धुरीमा बाह्रैमास चिसो हावा चल्छ । गर्मी महिनामा पनि जाडोयामको चिसो हावा चल्ने घना जंगलको बीचमा अवस्थित मालिकाबाट धौलागिरि, नीलगिरिलगायतका दर्जनौँ हिमशिखर आँखामा ठोकिन्छन् ।

हिमालभन्दा अग्ला देखिने मान्छेको जमघटले समेत मालिका जिल्लाकै आकर्षक गन्तव्य बन्न थालेको छ । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्रस्थलको परिचय पाएकोे छ ।

मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । जंगलभित्र रहेका पशुचौपायाका गोठ, समथर भूभाग, चराचुरुंगी र वन्यजन्तुको आवाज, बहुमूल्य जडीबुटीको बास्ना लिँदै मालिकाधुरी पुग्दा थकित भए पनि आनन्द महसुस हुने पर्यटन व्यवसायी बाबुराम आचार्य बताउनुछन् ।

जिल्लाको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित मन्दिरमा वर्षेनि हजारौँ दर्शनार्थी दर्शनका लागि पुग्ने गर्दछन् । सवारीसाधनको प्रयोग तथा भिरालो पहाड यात्रामा रमाउने निकै रोमाञ्चक मालिकाको व्यापक प्रचारप्रसार र पूर्वाधार विस्तार गर्न विश्वभरका पर्यटकलाई भित्र्याउन सहज हुने देखिन्छ । जिल्लामा अन्य पर्यटकीयस्थलबाट देखिने हिमशंखलाको तुलनामा यहाँबाट धेरै र ऐनामा हेरेजस्तै देखिन्छ ।

हिमाल र प्राकृतिक सौन्दर्यको अवलोकनका लागि अपार सम्भावना बोकेको मालिकालाई जिल्लाको आकर्षक गन्तव्यका रुपमा राख्नुपर्नेमा स्थानीयको भनाइ जायज देखिन्छ । सयौँ वर्ष अगाडिदेखि धार्मिक गन्तव्यका रुपमा रहेको मालिकाको पूर्वाधार विस्तार तथा प्रचारप्रसारले आन्तरिक पर्यटकलाई मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गर्नसक्ने पर्यटन व्यवसायी आचार्यले बताए ।

“हिमाल हेर्न आउनेलाई मालिकासम्म पुग्ने वातावरण बनाउनुपर्छ, त्यहाँ हिमालभन्दा मान्छे अग्ला देखिन्छन्,” आचार्यले भने ।

उनले सुनसान पदमार्गमा रमाउन चाहने पर्यटकलाई मालिकाको विकल्प नभएको बताउँदै पश्चिम म्याग्दी जोड्ने पदमार्गमा समेत मालिकालाई समावेश गरिएको बताए । सदरमुकाम बेनीबाट पैदलयात्रा हुँदै मालिका मन्दिरसम्म पुग्न चाहनेलाई समेत बेनी–अर्थुङ्गे–पुलाआश्रम–जगन्नाथ–टोड्के हुँदै मालिकासम्म जाने पदमार्गको निर्माणकार्य समेत भइरहेको छ भने पुरानो संरचनाबाट समेत सहजै आवतजावत गर्न सकिन्छ ।

त्यस्तै, रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहुँ, थाइवाङ, हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुँदै मालिका पुग्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झकप्रसाद पाइजाले बताए ।

मन्दिरको चारैतिरबाट पुग्न सकिने मन्दिरमा बस्ने सत्तलसहितका संरचना समेत बनेका छन् । एकैपटक सयौँ दर्शनार्थी पुग्ने मन्दिर आसपासका क्षेत्रमा रहेका ओडारमा समेत रात विताउने गरिन्छ ।

म्याग्दी भ्रमण वर्षमा समेत मालिकालाई व्यापक प्रचारप्रसार गरिनेछ । समुद्र सतहदेखि करीब तीन हजार ३०० मिटरको उचाइमा रहेको मन्दिरमा हरेक वर्ष तीनपटक पूजा गरिन्छ ।

(फाइल फोटो टोड्के/म्याग्दी)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button