एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक : गृहमन्त्री थापा

पोखरा न्युज -३१, वैशाख ।

गृहमन्त्री रामबहादुर थापाले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री थापाले देशमा यातायात, कृषि, उद्योगलगायतका धेरै क्षेत्रमा एकाधिकार मुठ्ठीमा लिएर बस्ने गरिएको बताए ।

एकाधिकारले हाम्रो आर्थिक समृद्धि रोकेको बताउँदै उनले देशको विकासका लागि सबै किसिमका एकाधिकार अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए । देशव्यापी रुपमा गुण्डाराज अन्त्यका लागि सरकार लाग्ने र यसका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

देशको पछौटेपनका कारण युवा जनशक्ति देश बाहिर रहेको र तिनलाई स्वदेश फिर्ता गर्न समृद्धि आवश्यक भएको मन्त्री थापाले बताए । राष्ट्रको समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक भएका कारण वामपन्थी शक्ति एक बन्न लागेको बताउँदै उनले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताए ।

“पार्टी एकताका लागि वैचारिक, राजनीतिक एवं सांगठनिक आधार तयार भइसकेको छ”, उनले भने, “एकताको मिति छिट्टै घोषणा हुनेछ, एकतासँगै देश विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री थापाले माओवादी मन्त्रीलाई ठाउँ नदिएको भन्ने विषय निराधार भएको बताए । भ्रमणका क्रममा राष्ट्रिय स्वाभिमान र गौरवमा आँच आउने किसिमले केही व्यक्तिले सार्वजनिक अभिव्यक्ति दिएको भन्ने कुरा आएको बताउँदै उनले त्यस्ता अभिव्यक्ति दिने व्यक्ति स्वयम् जिम्मेवार रहेको र त्यसमा सरकार जिम्मेवार नभएको बताए ।

प्रहरी सेवामा रोकिएका तल्लो तहका बढुवा प्रक्रिया शुरु भइसकेको र त्यो अघि बढ्ने मन्त्री थापाको भनाइ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button