मनसुनी गतिविधि सक्रिय : अझै दुई दिन वर्षा

पोखरा न्युज -३१, वैशाख ।

मनसुनी गतिविधि सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण आज देशैभर बदली र वर्षा भएको छ ।

पूर्व मनसुन (प्रि–मनसुन) गतिविधिसँगै बाहिरबाट आएको वायुले बदली र वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार भारतको उत्तर प्रदेश र विहार क्षेत्रमा न्यूनचापीय क्षेत्रको विकास तथा देशको पूर्वी क्षेत्रमा प्रवेश गरेको बंगालको खाडीको जलवाष्पयुक्त हावा र पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभावले समग्र भू–भागमा असर पुगेको छ । जसका कारण गएरातिदेखि आज दिउँसोसम्म बदली र वर्षा भएको हो ।

अहिले वर्षा रोकिए पनि मध्य र पूर्वी भेगमा बदली रहेको तथा आज राति र भोलि मंगलबार खासगरी पहाडी भेगमा वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ ।

रातिदेखि शुरु भएको मौसमी प्रणाली बुधबारबाट क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा २१ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी नेपालगञ्जमा ३९, वीरेन्द्रनगरमा ३७, दाङमा ३५, सिमरामा ३२, पोखरामा ३५ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, विराटनगरमा २२, ओखलढुंगामा २० र सबैभन्दा कम दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको न्यूनतम १५ र अधिकतम तापक्रम २६ डिग्रि सेल्सियस रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button