म सँग साठगाँठ रहेका भनिएकालाईनै कारबाही गर्छु – कास्की प्रहरी प्रमुख राना

पोखरा न्युज- २, जेठ ।

कास्की प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले गलत काम गरेको प्रमाण जुटेमा  आफुसँग साठगाँठ रहेका भनिएकाहरुलाई नै कारबाही गरेर देखाउने बताएका छन् ।

बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै  एसपी  रानाले आफु बिरुद्द नियोजित रुपमा निराधार हल्ला फैलाइएको दाबी गर्दै प्रमाण जुटेमा आफुसँग साठगाँठ रहेको भनि आरोप लगाइएका व्यक्तिहरुलाई नै पहिला कारवाही गरेर देखाउने ठोकुवा गरेका हुन् । ‘म बिरुद्ध सुनियोजित रुपमा निराधार हल्ला फैलाइएको छ जबकी मैले उनीहरुलाई चिनेको समेत छैन ‘, एसपी रानाले भने – ‘ मेरो पहिलो योजनानै गुन्डागर्दी नियन्त्रण हो , प्रमाण जुटोस म  उनिहरुलाई नै पहिला कारवाही गर्छु ।’

एसपी  रानाले आफु बिरुद्द नियोजित रुपमा निराधार हल्ला फैलाएका बिरद्ध समेत कारबाहीमा जाने बताउदै  भने- ‘कि प्रमाण पुर्याएर देखाउन पर्यो हैन भने कानुन अनुसार कारबाहीको भागीदार बन्न पर्यो । ‘ आइतबार देखि कास्कीमा कार्यभार सम्हालेका एसपी रानालाई कास्कीमा आउन नपाउदै  गुन्डागर्दी गर्नेहरुसँग संगत बढाएको खबर केहि संचारमाध्यममा फैलिएको थियो ।

कार्यक्रममा एसपी रानाले कास्कीमा जो कोहिले पनि गुण्डागर्दी गर्छ, धम्काउछ, डर त्रास देखाउछ भने त्यस्ता व्यक्तिलाई तुरुन्त कारबाही गरिने समेत बताए । ‘म सम्पूर्ण कास्कीका आम जनसमुदायलाई आग्रह गर्दछु यदि तपाइहरुलाई कसैले अलिकति पनि डर धम्कि देखाउछ, गुन्डागर्दी गर्छ, चन्दा माग्छ भने प्रहरीलाई जानकारी गराउनुहोस् तुरुन्त कारबाही हुन्छ’- एसपी रानाले भने ।

एसपी रानाले यसअघिका एसपी अशोक सिंहका राम्रा कार्यलाई आफुले निरन्तरता दिने उद्घोष गर्दै गुण्डागर्दीका लागि एउटा, घरेलु मदिरा, लागु पदार्थ, यौन व्यवसाय र जुवातास विरुद्व एउटा, चोरी लुटपाट कालोबजारी विरुद्व एउटा, फरार अपराधीको खोजीको लागि एउटा र सामाजिक संजाल साइवरबाट हुने अपराध विरुद्व एउटा गरि छुट्टा छुट्टै पाँच वटा पिलर खडा गरी अपराधीको खोजतलास तथा कारवाहीमा अगाडी बढ्ने योजना बनाएको बताए । गुण्डागर्दीको राज अन्त्य, लागूऔषध प्रयोगकर्ता संगै तस्कर र डिलरहरुलाई कारबाही, मुख्य मुख्य चोकमा सिसिटिभी जडान, ध्वनि प्रदुषण गराउने तथा संगठित रुपमा मोटरसाइकल चलाएर हो हल्ला गर्नेलाई कारबाही, दुर्व्यवहारको अन्त्य जस्ता कुरामा आफु लागी पर्ने एसपी रानाले उल्लेख गरे । कार्यक्रममा एसपी रानाले आफ्ना १२ बुदे कार्ययोजना प्रस्तुत गरेका थिए ।

यस्ता छन् कास्की प्रहरी प्रमुख ओम बहादुर रानाका आगामी  कार्ययोजना:

१) प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूका प्राथमिकताको अक्षरस पालना,
२)अपराधिक कृयाकलाप उपर कानुनको कठोरतालाई आत्मसाथ गर्दै विवेकपूर्ण प्रहार,
३) गुण्डागर्दी विरुद्व कडा कारवाही,
४)घरेलु मदिरा तथा लागु पदार्थ, यौन व्यवसाय र जुवातास नियन्त्रणमा निरन्तरता,
५)चोरी, लुटपाट, कालोबजारी न्यूनिकरण
६)न्यायिक निकायसंगको समन्वयमा फरार अपराधीको पक्राउ तथा कारवाही,
७)प्रविधियुक्त नागरिक मैत्री प्रहरी सेवा, भौतिक तथा प्राविधिक पूर्वाधारको निर्माण तथा स्तरवृद्विमा जोड
८)सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यबस्थापन सँगै जनचेतनामुलक कार्यक्रम संचालन
९)घरेलु हिंसा, लैंगिक हिंसा, महिला बालबालिका, जेष्ठ नागरिक तथा अशक्त व्यक्ति उपरका घटनामा संवेदनशिलता र पिडित मैत्री वाताबरणको सिर्जना
१०)सामाजिक विकृति विसंगति र कुसंस्कार विरुद्व जनचेतानमुलक कार्यक्रमको निरन्तरता
११)छुट्टा छुट्टै स्क्वायड (पिलर) खडा गरी अपराधीको खोजतलास तथा कारवाही
–  गुण्डागर्दी १ , घरेलु मदिरा, लागु पदार्थ, यौन व्यवसाय र जुवातास विरुद्व १, चोरी लुटपाट कालोबजारी १, फरार अपराधीको खोजीको लागि        १, सामाजिक संजाल (साईवर) बाट हुने अपराध १
१२) सुचना संकलन एवं प्रमाणमुखी अनुसन्धानमा जोड ।

यो पनि पढ्नुहोस् –

पोखरामा एकैदिन ३६ ट्याक्सी नियन्त्रणमा, मिटरमा चल्न नमाने प्रहरीलाई खबर गर्न एसपी रानाको आग्रह

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button