Pokhara News

राजनीतिक स्थायित्वका लागि एकता सकारात्मकः सङ्गठनात्मक चुनौती पनि

पोखरा न्युज – ०३, जेठ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच औपचारिक रुपमा पार्टी एकताको घोषणा भएपछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक्लो ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भएबाट विभिन्न क्षेत्रका विद्वान्ले मुलुकमा राजनीति स्थायित्व हुने संज्ञा दिएका छन् ।

उस्ताउस्तै विचार राख्ने दुई ठूला पार्टी एक्लाएक्लै हिँड्नुभन्दा एउटै पार्टी हुँदा मुलुकमा राजनीतिक स्थायित्व भई मुलुकमा विकासको ढोका खुल्ने विद्वान्को धारणा छ । राजनीतिक विश्लेषक सोमत घिमिरेले वामपन्थी पार्टीहरु एक हुनुलाई सकरात्मक रुपमा लिएका छन् । “दुवै पार्टीको विचारमा खास फरक छैन, पृष्ठभूमिलाई हेर्दा एउटा चलनचल्ती अनुसार आएको र अर्को जनयुद्धबाट आएको भन्ने मात्र हो, दुई पार्टी एकता हुनु सकारात्मक कुरा हो,” उनले भने ।

घिमिरेका अनुसार दुई ठूला पार्टी छुट्टाछुट्टै हुँदा जनताको मत कम्युनिष्टलाई नै बाँडिएको थियो । एकता भएपछि एक ढिक्का भयो जुन राम्रो कुरा हो । ठूला पार्टी एक हुँदा मुलुकमा राजनीतिक स्थायित्व हुनाका साथै स्वास्थ्य र शिक्षा नीति तथा समग्र मुलुकको विकासमा मद्दत पुग्छ । “दुई कम्युनिष्ट पार्टी एकता हुँदा दुई वामपन्थी ठूला दलले जनताको मत माग्ने प्रतिष्पर्धाको अन्त्य भएको छ तर ठूला दुई पार्टीभित्र संगठनात्मक व्यवस्थापनमा निकै चुनौती छ, किनभने दुवै पार्टीमा धेरै नेता छन्”, राजनीतिक विश्लेषक घिमिरेले थपे ।

अर्का राजनीतिक विश्लेषक उद्धव प्याकुरेलका अनुसार मतदाता दुई पार्टी एकता हुन लागेकामा धेरै खुशी मानिरहेका छन् तर पार्टीका नेताबीचमा व्यक्तिगत चरित्रका कारण व्यवस्थापनमा निकै कठिनाइ हुनेछ । “उस्तै विचारधाराको पार्टी हो, एकता हुनु सकारात्मक कुरा हो तर राजनीतिक व्यक्तिवादी चरित्र, धेरै नेतृत्व गर्न सक्ने नेताहरु पदमिलानमा निकै कठिनाइ हुन सक्छ”, प्याकुरेलले जोडे ।

एमाले र माओवादी दुई पार्टीबीचको एकतालाई वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले पनि सकारात्मक रुपमा लिई मुलुकमा स्थायित्व मिल्ने आशा गरेका छन् । “नेपालका ठूला दुई वामपन्थी मिल्नु ऐतिहासिक कुरा हो, वामपन्थी एक र प्रजातान्त्रिक एक भए मुलुकको विकासमा पनि सहज हुन्छ, पार्टी एकता हुनु निकै राम्रो हो”, मैनालीले थपे । सानो मुलुकका धेरै राजनीतिक पार्टी हुँदा जुन रुपमा विकास हुनुपर्ने हो त्यसअनुरुप हुन सकेको नसकेको उनको बुझाइ छ ।

वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले पनि सिद्धान्त र वैचारिक दृष्टिकोणले उस्तै पार्टी भएको हुँदा एकता हुनुलाई सकारात्मक रुपमा हेरेका छन् । “एकता आफैँमा राम्रो कुरा हो, नेपालमा दुई/तीन पार्टीभन्दा बढी जरुरी छैन, पार्टीका खिंचातानीका कारण विकासमा अवरोध पुगेको छ, अरु पार्टीहरुबीच पनि विस्तारै एकता भए राम्रो हुन्थ्यो”, उनले जोडे ।
नेपाली वामपन्थी राजनीतिको इतिहासमा ठूला दुई पार्टी एकीकरण भएको आज ऐतिहासिक दिन हो । यसअघि नेपाली राजनीतिक इतिहासमा यति ठूला राजनीति दलबीच एकता भएको इतिहास छैन । गत असोज १७ गते एमाले र माओवादी निर्वाचनमा तालमेल गरेर पछि पार्टी एकता गर्ने घोषणा गरेर अगाडि बढेका थिए । तीनै तहको निर्वाचन सम्पन्न भइसक्दा पनि दुई राजनीतिक दलबीच पार्टी एकता नहुँदा दुवै पार्टीका नेता तथा कार्यकर्तामा एक प्रकारको नैराश्य देखिन थालेको थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने र समय आएपछि घोषणा गर्ने बताउँदै आउनुभएको थियो । दुई अध्यक्षको भनाइ सही सावित भएको छ । बुधबार दुई अध्यक्ष बसेर पार्टी एकीकरण आज हुने सहमति गरेका थिए । दुई पार्टीबीचको गठबन्धन स्थायित्व र विकासका लागि भनेर घोषणा गरिएको थियो ।

त्यही नारालाई ध्यानमा राखेर निर्वाचनमा मतदाताले दुई पार्टीलाई झण्डै दुई तिहाइ बहुमत दिए जुन मत पार्टी एकता तथा मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि थियो । मतदाताले दुई पार्टी एक भएको हेर्न चाहेका थिए । दुई पार्टीले आज त्यही जनमतको कदर गरेका छन् ।

एकता सकारात्मक छ : बुद्धिजीवी

गत निर्वाचनमा वामगठबन्धन बनाई निर्वाचन लडेका एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यहाँका बुद्धिजीवीले यसलाई सकारात्मक रुपमा लिएका छन् । उनीहरूले एकतालाई दिगो बनाउनुपर्नेमा जोडसमेत दिएका छन् ।

वाम बुद्धिजीवी रमाकान्त सापकोटाले जनताको अभिमतअनुरुप ढिलो गरी एकता भएपनि एकताले जनताको भावना समेट्न सफल भएको बताए । प्रा डा सूर्यकान्त घिमिरेले गत निर्वाचनमा भएको सहमतिको अनुमोदनका रुपमा पार्टी एकतालाई लिनुपर्ने बताए । केन्द्रीय नेता र तल्लो तहका जनता पार्टी एकतामा लागेको भए पनि बीचको एक तह एकताको पक्षमा कम देखिएको बाहिरबाट प्रष्ट बुझ्न सकिएको उनि बताउछन् ।

बुद्धिजीवी प्रेम रिमाल अहिलेको पार्टी एकता नौलो नभएर वाम गठबन्धनको पूर्व शर्तअनुरुप भएको बताउछन् । गत निर्वाचनमा जनताले दिएको अभिमत नेताले इमान्दारीपूर्वक पूरा गरेको बताउँदै उनले सबै खाले कम्युनिष्ट पार्टीलाई विचार र विधिका आधारमा नजिक्याउँदै लैजाने र प्रतिपक्षलाई विकासनिर्माणको मूल विषयमा नजिक्याउन सकेमा एकता सफल हुने विश्वास व्यक्त गरे ।

प्रा रामकुमार तिवारीले गत निर्वाचनमा दुई पार्टी एक भएर समृद्धिका लागि काम गर्ने जुन प्रतिबद्धता थियो, त्यसको नतिजा आएको बताउँदै मुलुकमा अब राजनीतिका खुद्रा पसल बन्द हुनका लागि सन्देश गएको विचार राखे । बुद्धिजीवी डा केशवभक्त सापकोटा पार्टी मिलेर स्थायी सरकार र समृद्धिको नाराका कारण मत लिइसकेकाले दुई पार्टी एक हुनैपर्ने थियो भन्दै नैतिक रुपमा जनताका बीचमा गरिएका प्रतिबद्धता पूरा भएको बताए ।