Pokhara News

इलाममा प्याराग्लाइडिङका लागि पहल


पोखरा न्युज-  ०६, जेठ ।

पर्यटकीय जिल्ला इलाममा थप पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङको आवश्यकता महशुस गर्न थालिएको छ । यहाँ जन्मिएर लामो समयसम्म हङकङमा रही हाल पोखरा बस्दै आएका सुमित्रा राईको पहलमा प्याराग्लाइडिङको संभावना अध्ययन गरिएको हो।

पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका १० वटै स्थानीय तहबाट प्याराग्लाइडिङका लागि जोड दिन पहल भइरहेको उनले बताए । पर्यटन व्यवसायी रहेका राईको पहलमा इलामको निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट यसको परीक्षण उडान गरिएको छ । प्याराग्लाइडिङको सम्भाव्यताबारे जनप्रतिनिधि, पर्यटन व्यवसायी, होटल व्यवसायी तथा सञ्चारकर्मीसँग उनले छलफलसमेत गरेका छन् ।

आठदेखि ३६ डिग्री सेल्सियस तापक्रमसम्मका स्थानमा प्याराग्लाइडिङ गर्न सकिन्छ । यसका लागि हावाको तेज बहाव चाहिन्छ । यो मौसमी वातावरण इलाममा रहेकाले समेत प्याराग्लाइडिङको कम्पनी खोलेर सञ्चालन गर्न सकिने व्यवसायी राईले बताए । सम्भावना अध्ययनका लागि राईसँगै प्याराग्लाइडिङ पाइलट विवेकशम्शेर राणा र विनोद लावतीसमेत आएका थिए ।

इलाममा ऐतिहासिक पुरातात्विक महत्व बोकेका र रमणीय स्थान प्रशस्त छन् । सम्भावना अध्ययन पछि पहल गरेर इलाममा प्याग्लाइडिङ कम्पनी खोल्ने र स्थानीय क्षेत्रमा नै प्याराग्लाइडिङ पाइलट उत्पादनमा जोड दिने सम्बन्धित निकायले जोड दिएका छन्।

इलामका लागि प्याराग्लाइडिङ नयाँ कुरा भए पनि सम्भावना देख्दा सबैसँग सहकार्य गरी अघि बढ्न आफूहरू तयार रहेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

जिम्मेवारी दिए आफूहरु नेतृत्व गरेर अघि बढ्न सक्नेमा जोड दिंदै उनले प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म पहल गर्नेसमेत उनले जोड दिए ।


खुल्दैछ.......