डडेल्धुरामा २० वर्ष पुरानो फोहर बल्ल उठाइयोे

पोखरा न्यूज ०८, जेठ ।

डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको २० वर्ष पुरानो फोहर सोमबार सफा गरिएको छ ।

बीसवर्ष पहिले नाली निर्माण भएपछि थुप्रिएको सदरमुकामको फोहर सोमबार अमरगढी नगरपालिकाको पहलमा सरसफाइ गरिएको हो । डडेल्धुराको अमरगढी नगरपालिकाले बजार व्यवस्थापन तथा सरसरफाइको अभियानलाई तीव्रता दिएसँगै बसपार्कको नालीमा रहेको पुरानो फोहरलाई सफा गरिएको अमरगढी नगरपालिकाले जनाएको छ ।

वर्षौं अघि अमरगढी नगरपालिकामा निर्माण भएको बसपार्कको नाली फोहर हुँदा यात्रु तथा चालकले सास्ती खेप्दै आइरहेका थिए । नालीमाथि राखिएको स्ल्याब जीर्ण बनी सवारीसाधन निकाल्न अप्ठ्यारो भइरहेको थियो । अहिले अमरगढी नगरपालिकाले जीर्ण भएका स्ल्याब हटाएर फोहर सफा गरेको हो । फोहरका कारण बसपार्कमा यात्रुलाई एकछिन उभिन पनि असजिलो हुने गर्दथ्यो ।

लामो समयदेखि नालीमा रहेको फोहर नउठ्दा तथा स्ल्याब जीर्ण भएपछि नगरपालिकाले अहिले अभियाननै चलाएर समस्या समाधान गरेको हो । उक्त अभियान सञ्चालन भएपछि यात्रु तथा सवारी चालकलाई सहज हुने नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । अब केही समयमै जिल्ला सदरमुकाममा रहेको अव्यवस्थित बजार तथा फोहरको समस्या समाधान हुने नगरप्रमुख ओझाले जनाए ।

त्यस्तै, नगरपालिकाले विगत लामो समयदेखि डडेल्धुरामा रहेको साँघुरो सडकको समस्या सुल्झाउने योजना बनाएकोे जनाएको छ । अव्यवस्थित बजार तथा सडकका कारण हैरानी खेपिरहेका व्यापारी, यात्रु तथा सवारी चालकलाई अबको केही समयमा सहज हुने नगरपालिकाले जनाएको छ ।

स्थानीय तह आइसकेपश्चात् विभिन्न चुनावका कारण कार्य सम्पादन गर्न कठिनाइ भएको थियो, अबको एक डेढ वर्षभित्रै बजारको सडक १५ मिटर चौडा बनाउने योजना बनेको वडा नं ५ का अध्यक्ष खेमराज पाठकले बताए । अहिले तत्काल व्यापारीलाई अनुरोध गरेर सडकको दुवैतर्फ दुई मिटर बाटो खुलाइने उनले बताए ।

वर्षौंअघि निर्माण भएको भीमदत्त राजमार्ग जिल्ला सदरमुकामको बागबजार भएर गएको छ । सदरमुकाममा अहिले अव्यवस्थित बजारीकरणका कारण सडक साँघुरो भई सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको छ । दैनिक यातायातका साधन तथा पैदलयात्रुलाई बजारको सडक भएर जान सकश हुने गरेको बागबजारका व्यापारीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button