चेन्नई आईपिएलको फाइनलमा, हैदरावाद दुई विकेटले पराजित

पोखरा न्यूज ०९, जेठ ।

आइपिएल अन्तर्गत गएराति भएको पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदरावादलाई दुई विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्ग्स फाइनलमा प्रवेश गरेको छ ।

मुम्बईको वाङ्खडेमा भएको खेलमा महेन्द्र सिंह धोनीको सुपर किङ्ग्सले टस जित्दै फिल्डिङ रोजेको थियो । बलिङलाई सुहाउँदो पिचमा चेन्नईका बलरहरुले कप्तान धोनीको निर्णयलाई सही सावित गर्दै सनराइजर्सको ५० रनमा चार विकेट लिइसकेका थिए। कमजोर सुरुवात गरेको सनराइजर्सका लागि कार्लोस ब्राथवाईटले सर्वाधिक ४३(२९) रनको योगदान दिए । कप्तान केन विलियमसन र युसुफ पठानले २४-२४ रन बनाए । अन्तिम ओभरमा ब्राथवाइटले २० रन नबनाएको भए हैदरावाद अझै सस्तैमा समेटिने थियो । बलिङ तर्फ चेन्नईका ब्राभोले दुई विकेट लिए । उसका लागि रविन्द्र जडेजाले ४ ओभरमा १३ रन खर्चदै १ विकेट र लुङ्गी ङ्गिडीले २० रन खर्चदै एक विकेटका साथ निकै किफायती बलिङ गरे ।

प्रतिउत्तरमा ब्याटिङमा उत्रिएको चेन्नईको सुरुवात झन खराब रह्यो । पावरप्लेको ६ ओभरमा उसले ३३ रन बनाउँदा ३ विकेट गुमायो । धोनी, अम्बति रायडु, सेन वाट्सन सबैलाई सस्तैमा गुमाएको चेन्नईलाई फाफ डुप्लेसिस एक्लैले विजय तर्फ डोहोर्याए। उनले ६७(४२) रन बनाए । उनका अलावा सुरेश रैनाको २२ रन नै टिमका लागि सर्वाधिक योगदान थियो । हैदरावादका लागि सन्दीप शर्मा, सिद्धार्थ कौल र रासिद खानले २-२ विकेट लिएर टिमलाई खेलमा फर्काए पनि अनन्त जीत दिलाउन असफल रहे ।

हिजो हारेको सनराइजर्सले अब आज हुने कोलकाता र राजस्थानबीचको पहिलो इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । चेन्नई भने मुम्बईमै दोस्रो क्वालिफायरको विजेतासँग हुने फाइनलको तयारी गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button