पर्यटकलाई लोभ्याउँदै चितवनको जलविरे झरना

पोखरा न्यूज १०, जेठ ।

भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । तस्वीर देख्नेबित्तिकै लोभिने पर्यटक, यहाँ पुग्दा छुट्टै आनन्द महसुस गर्छन् ।

पूर्वाधारबिनै पर्यटकको चहलपहल बढेको जलविरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो केही वर्षको प्रयासमा शौचालय, चेन्जिङ रुम, पौडी पोखरी, पार्क र सिँढी निर्माणले आकर्षण थपे पनि अझै पूर्वाधार निर्माण र उचित प्रचार हुन सकिरहेको छैन ।

पर्यटक यहाँ स्वतःस्फूर्त रुपमा आउँछन् । भारतबाट समेत आनन्द लिन यहाँ पर्यटक आउने गरेका छन् । झरना घुम्दै गरेका भारत रक्सौलका अमर सिंह भनछन्, “झरनामा आइपुग्दा छुट्टै आनन्द लाग्छ ।” महिनामा एकपटक उनको समूह झरनाको प्राकृतिक आनन्द लिन आउने गरेको छ । उनिसँगै विहार मोतिहारीका रमेश शाह, बृज शाह र रवि शाह पनि लामो झरना घुमेर रमाए ।

जुनसुकै समयमा पुग्ने पर्यटक सो झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन् । सुन्दर प्राकृतिक मनोरम दृष्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ ।

नारायणगढको चर्काे गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । चितवन पर्यटन विकास समितिका महासचिव एवं पर्यटन विज्ञ विश्वराज सुवेदी प्राकृतिक दृष्यावलोकनका लागि सुन्दर क्षेत्र भएको विश्लेषण गर्नुहुन्छ ।

झरनामाथि रहेको गाउँ याकराङमा होमस्टे (घरबास) निर्माण गरी गुरुङ संस्कृतिको विकास गर्न जरुरी देख्नुहुन्छ सुवेदी । माथिदेखि नागबेली परेको त्रिशूली र नारायणगढ–मुग्लिन सडकका नागबेली दृष्य सुन्दर लाग्छ । पहाडको टुप्पोबाट देखिने सलाइका बट्टाजस्ता गाडीका लस्करले आकर्षण थप्छ ।

चितवनका पहिचान भएका ४० उत्कृष्ट पर्यटकीय आकर्षकमध्ये जलविरे झरना उत्कृष्ट गन्तव्यमा पर्छ । इच्छाकामना गाउँपालिका– ६ जलविरेमा रहेको उक्त झरना ६० मिटरभन्दा बढी लामो छ ।

नारायणगढ–मुग्लिन सडकको जलविरे मन्दिरबाट झण्डै आधा घण्टा पैदल हिँडेर झरना पुग्न सकिन्छ । पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङ पूर्वाधार थपिएकाले पछिल्लो समय झरना र आसपासका क्षेत्र व्यवस्थित बन्दै गएका बताउछन् ।

अहिले सो झरना अवलोकनका लागि दैनिक कम्तीमा १०० जना पर्यटक पुग्छन् । अधिकतम दिनमा एक हजार २०० सम्म पर्यटक पुगेको तथ्यांक समितिसँग छ । झरना नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलविरेमा पर्छ । नारायणगढबाट २९ किलोमिटर मुग्लिनतर्फ रहेको उक्त क्षेत्र काठमाडौँ, पोखरा र सौराहा आउने पर्यटकका लागि बसाइँ लम्ब्याउने गन्तव्य हो ।

क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र युरोपबाट समेत पर्यटक आउने गरेका समितिका अध्यक्ष गुरुङले बताउनुभयो । पर्यटकले पूर्वाधार निर्माण हुनुअघि नै क्यानोनिङ गर्र्थे । क्यानोनिङ एशोसिएसनले नै यहाँ पर्यटक ल्याउने गरेको छ ।

यहाँ प्रवेश गर्न पर्यटकलाई रु ५० शुल्क लाग्छ । प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । विसं २०६९ देखि पर्यटन विकास शुरु भएको यहाँ पछिल्ला केही वर्षदेखि पर्यटकीय गन्तव्य बनाउन भन्दै विभिन्न कार्यक्रम हुँदै आएको छ । यसपटक मात्रै इच्छाकामना गाउँपालिकाले सिँढी र पार्क बनाउन रु आठ लाख विनियोजन गरेको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले बताए ।

यहाँ पर्याप्त पर्यटकीय पूर्वाधार निर्माण हुन सकिरहेको छैन । तैपनि पर्यटक आउने क्रम बढ्दो छ । शनिबार र बिदाको दिनमा समूह समूहमा सयौँ पर्यटक यहाँ आउने गरेका छन् । आकर्षक पुलको व्यवस्था गरेर होमस्टे, वनभोज स्थल, भ्यू टावर र बाटो व्यवस्थित गर्नु जरुरी छ । चितवन पर्यटक विकास समितिका अध्यक्ष दिलीप मैनाली पर्यटन पूर्वाधार बनाउन अति जरुरी रहेको बताउ छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button