फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन पहल

पोखरा न्यूज -१६, जेठ ।
पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीले पहल थालेका छन् ।

हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयवासीले पूर्वाधार निर्माण तथा प्रचारप्रसार शुरु गरेका छन् ।

प्रशस्त पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले फलामेडाँडा ओझेलमा परेको छ । समुद्री सतहदेखि दुई हजार ४१५ मिटरको उचाइमा अवस्थित फलामेडाँडाबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि हिमाल, पर्वत, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ ।

फलामेडाँडामा भ्यू टावर निर्माण गर्ने योजना रहेको लोप्रेका युवा पुर्खबहादुर पुर्जा पुनले बताए । उनका अनुसार गाउँपालिकाको रु ५० हजार सहयोगमा यस वर्ष ५४ मिटर ढुङ्गे सिढीसहितको पदमार्ग निर्माण भएको छ ।

पदमार्ग निर्माणका लागि लोप्रेका ६५ घरधुरीले दुई दिनका दरले श्रमदान गरेका थिए । भ्यू टावर, होटल तथा लज सञ्चालनका साथै सडकको स्तरोन्नतिका लागि गाउँपालिकामा पहल गरिएको छ ।

बेनी मल्लाज, बाँसखर्क, नाँगी, शालीजा भएर पुग्न सकिने फलामेडाँडालाई करबाकेली इको ट्रेक(पर्या पदमार्ग) मा समावेश गर्न प्रस्ताव गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button