बजेट ३० प्रतिशत समाजवादतर्फ उन्मुख

पोखरा न्यूज -१६, जेठ ।
सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् ।
उनीहरुले विगतको भन्दा पृथक् बजेट आए पनि उद्योग व्यवसायमैत्री बजेट हुन नसकेको प्रतिक्रिया दिएका छन् ।
उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले नेपालीले बहुमत सरकारले ल्याउने बजेटको जुन अपेक्षा गरेका थिए, त्यस्तो बजेट आउन नसकेको बताए ।

उनले नीति तथा कार्यक्रममा उल्लेख भएझैँ उत्पादन र रोजगारी वृद्धि गर्न बजेट केन्द्रित हुन नसकेको टिप्पणी गरे । “बजेटमा उल्लेख भएझैँ पाँच वर्षमा उत्पादन दोब्बर बनाउन र रोजगारी नेपालमै सिर्जना गर्ने विषय स्वागतयोग्य छ”, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष राजन गौतमले बजेट प्रभावरहित बजेट छ भन्दै प्रभावशाली नेताका क्षेत्रमा केन्द्रित भएर आउने यसअघिका बजेटभन्दा पृथक् रहेको बताए । दुई तिहाइको सरकारले केही जोखिम मोलेर ठूला परियोजना ल्याउनुपर्नेमा अधिकांश विषय अमूर्त रहेको उनले बताए । निर्वाचनका बेला भएका घोषणानुरुप बजेट नरहेको पनि उनले बतए ।

नेपाल पोल्ट्री महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टले राष्ट्रिय उद्योगलाई प्रोत्साहन गर्ने गरी बजेट नआएको बताए । नेपालमा आत्मनिर्भर रहेको कुखुरापालन क्षेत्रलाई प्रभावित हुनेगरी कर बढाइएका आलोचना गरे ।

उनले दाना उद्योगमा अत्यावश्यक पिना, भटमासजस्ता वस्तु आयातमा कृषि सुधार कर १.५ प्रतिशतबाट बढाएर ५ प्रतिशत पु¥याइएकाले दाना प्रतिकिलो एक रुपैयाँ बढ्ने बताए । कुखुरापालन व्यवसायलाई आत्मनिर्भर बनाइराख्न समस्या हुने भएकाले ब्याजमा दिइने अनुदान सहज बनाउनुपर्ने सुझाव उनको छ ।

उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले बजेट उद्योगमैत्री नभएर व्यापारमैत्री भएको प्रतिक्रिया दिए । राजनीतिक हिसाबले जोशिलो बजेट नभई कर्मचारीतन्त्रको जस्तो बजेट भएको पनि उनको भनाइ छ । बजेट देशमा उद्योगधन्दा बढाएर रोजगारी सिर्जना गर्दै राजश्व बढाउनुपर्नेमा आयात बढाउने खालको रहेको उनले बताए । बजेटले आयात प्रतिष्पर्धा गरेर निर्यात बढाउन नसक्ने जिकिर उनको छ ।

उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले बजेट आंशिक रुपमा ठीक छ भन्दै उत्पादन बढाउने कुरामा भने मौन बसेको आरोप लगाए । उनले उत्पादन बढाउनेतर्फ भन्दा आयकर बढाउनेतर्फ लक्षित देखिएको प्रतिक्रिया पनि दिए । विदेशमा काम गरेर फर्किएकालाई रु १० लाख विनाधितो दिने जस्ता सकारात्मक पक्ष पनि बजेटमा रहेको उनले बताए ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बजेट जनप्रिय नभए पनि पर्यटन सुधारको कार्यक्रम भने राम्रो छ भने । बजेटअनुसार काम हुन सकेमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

वीरेन्द्र बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयका प्राध्यापक निर्मल शर्माले विगतको बजेट र अहिलेको बजेटमा खासै भिन्नता नरहेको बताए । बजेट ३० प्रतिशत समाजवादतर्फ उन्मुख भएको उनको टिप्पणी छ । सबै क्षेत्रको अध्ययनमा बजेट केन्द्रित छ भन्दै उनले आर्थिक स्थायित्व दिन बजेट सफल हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button